टेलिकमको आम्दानीमा वृद्धि


 


काठमाडौँ, साउन २७

नेपाल टेलिकमको गत आर्थिक वर्षको कूल आय रु ४५ अर्ब ५६ करोड ५८ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको आम्दानी दुई दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा टेलिकमले रु १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा एक दशमलव ९२ प्रतिशत वृद्धि भएको छ ।

टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा एक रुपैयाँ ९६ पैसाले वृद्धि भई १०४ रुपैयाँ ४५ पैसा पुगेको छ । विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी ‘टिडिएम माइग्रेसन’ आयोजनाअन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरिएको छ ।

सो अनुरुप हालसम्म करीब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको टेलिकमको विज्ञप्तिमा उल्लेख छ । क्रमिक रुपमा अन्य लाइन रुपान्तरण गर्ने काम जारी छ । रासस

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्