काङ्ग्रेसले आधा झण्डा झुकाउने


 


काठमाडौँ, साउन २७

नेपाली काङ्ग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणाप्रति सम्मान प्रकट गर्दै तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टीका कावा सभापति विमलेन्द्र निधिको अध्यक्षतामा आज बसेको काङ्ग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राणाको निधनमा यही साउन २७, २८ र २९ गते पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले साउन २८ गते केन्द्र तथा जिल्ला कार्यालय बन्द गर्ने तथा १३औँ दिनमा केन्द्रीय कार्यालयमा शोकसभाको आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काङ्ग्रेसका पुराना अग्रज नेता राणाको यही साउन २५ गते भारतको कोलकातामा निधन भएको हो । बिपी कोइराला प्रधानमन्त्री रहनुभएको नेपालको प्रथम संसद्मा गोर्खा परिषद्को नेताको हैसियतले उहाँ प्रमुख प्रतिपक्षी दलको नेता हुनुहुन्थ्यो ।

विसं २०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि सो घटनाको विरुद्धमा उभिँदै स्व राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त काङ्ग्रेसमा विलय गराउनुभएको थियो ।

तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको कार्यकालमा उहाँ केन्द्रीय सदस्य हुनुहुन्थ्यो । बैठकले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रासस

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्