पासपोर्ट दुरुपयोग र कब्जा गर्नेलाई अब कडा सजाय, यस्तो बन्यो कानून


 


काठमाडौं, साउन २८
राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ ।

सरकारले ५१ वर्षपछि बनाउन लागेको राहदानीसम्बन्धी नयाँ कानुनमा यस्तो व्यवस्था हुँदैछ । नयाँ पत्रिकामा खबर छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ ।

झुटा विवरण दिई राहदानी वा लिन प्रयत्न गरेमा, अनुमतिपत्र वा राहदानी नलिई विदेश गएमा वा जाने प्रयत्न गरेमा, सरकारको आदेश वा निर्देशन पालना नगरेमा, उद्देश्यविपरीत राहदानी प्रयोग गरेमा, आफ्नो पासपोर्ट अरूलाई प्रयोग गर्न दिएमा, राहदानीमा भएको फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी मञ्जुरी नलिई बदनियतपूर्वक नियन्त्रणमा राखेमा दण्डसजाय हुनेछ ।

हाल राहदानी ऐनमा पासपोर्ट दुरुपयोग गर्नेलाई पाँच सय जरिवाना वा एक वर्षसम्म जेल सजायको व्यवस्था छ । वैदेशिक रोजगारीका लागि म्यानपावर कम्पनी पुगेका अधिकांश युवाको पासपोर्ट म्यानपावरले नियन्त्रणमा लिने गरेका छन् ।

सरकारले ल्याएको विधेयक संसद्बाट स्वीकृत भए अब अर्काको पासपोर्ट बद्नियतपूर्वक नियन्त्रणमा राख्नेलाई दुई लाखदेखि ५ लाखसम्म जरिवाना वा एक वर्षदेखि तीन वर्षसम्म जेल सजाय वा दुवै सजाय हुनेछ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्