होटलले फेवाताल अतिक्रमण गरेको फेला, यस्तो छ छानबिन समितिको प्रतिवेदन


 


काठमाडौँ, साउन २९
पोखराको पार्क भिलेज वाटर फ्रन्ट प्रालिले फेवातालको झन्डै डेढ रोपनी जग्गा अतिक्रमण गरेको फेला परेको छ ।

सर्वोच्च अदालतको आदेशबाट गठन भएको छानबिन समितिको प्रतिवेदनअनुसार रिसोर्टले झन्डै २२ आना जग्गा अतिक्रमण गरी भौतिक संरचना बनाएको हो । कान्तिपुरमा खबर छ ।

प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठित समितिले सर्वोच्चमा प्रतिवेदन बुझाइसकेको छ ।

स्रोतअनुसार प्रतिवेदनमा छुट्टाछुट्टै तीन कित्तामा गरी झन्डै २२ आना जग्गा मिचिएको उल्लेख छ । फेवाताल किनारामा रहेको अत्यन्त रमणीय स्थानको जग्गा निकै महँगो मूल्यको हो । यस्ता संरचनाले फेवातालकै प्राकृतिक अस्तित्वसमेत संकटमा पारेको जानकारहरू बताउँछन् ।

प्रतिवेदनअनुसार मिचिएको जग्गा तत्कालिन ग्यारजाती गाविसको १७३, ३०४ र ३०५ नम्बर कित्ताको नाममा लालपुर्जा छ । ग्यारजाती पछि सराङकोट गाविसमा परिणत भयो भने हाल उक्त क्षेत्र पोखरा महानगरपालिका–१९ मा पर्छ ।

१७३ नम्बर कित्तामा २४२ दशमलव ४९ वर्ग मिटर क्षेत्रफल रहेकामा रिसोर्टले १२२ दशमलव ८६ मिटर अतिक्रमण गरेर भौतिक संरचना बनाएको छ ।

कित्ता नम्बर ३०४ को १२६५ दशमलव १२ वर्गमिटर जग्गामध्ये ३८१ दशमलव ५६ वर्गमिटर मिचिएको छ । कित्ता नम्बर ३०५ को ३३३ दशमलब ५१ वर्गमिटर जग्गामध्ये ४८ दशमलव ८८ वर्गमिटर जग्गा रिसोर्टले मिचेको छ । यसरी ५५३ दशमलव ३ वर्गमिटर जग्गा अतिक्रमणमा परेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्