विप्लवको बन्दः स्कुल बसमा आगजनी, दुई ठाउँमा शंकास्पद बस्तु फेला


 


काठमाडौं, साउन २९
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले (नेकपा)ले आज गरेको बन्दका कारण देशका विभिन्न ठाउँको जनजीवन प्रभावित भएको छ ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड पक्राउ परेको विरोधमा नेत्र विक्रम चन्द, विप्लव नेतृत्वको पार्टीले आज बन्द आह्वान गरेको छ । पार्टीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन् ।

आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ।

यस्तै, आज दुई ठाउँमा शंकास्पद बस्तु फेला परेको छ । बाजुराको बडीमालिका नगरपालिका नजिकै शंकास्पद वस्तु फेला परेको छ । बडीमालिका नगरपालिकाको गेट नजिकै प्लाष्टिकले बेरेको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अहिले शंकास्पद बस्तुलाई प्रहरीले सुरक्षा घेरामा राखेको छ भने सेनाले डिस्पोज गर्ने तयारी गरिरहेको छ । बन्दका प्रभाव प्रदेश ७ मा भने न्यून छ । लामो दुरीका सावरी साधनन चल्न नसकेपनि छोटो दुरीका सवारी साधन भने निर्वाध रुपमा चलिरहेका छन् ।

त्यस्तै रौतहट चन्दपुरको पुर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली परिचालन गरिएको बताइएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्