एउटै गाईबाट सवा पाँच लाख आम्दानी


 


नेपालगन्ज, साउन ३१
बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ।

१६ वैशाख २०७३ मा पहिलो बेत ब्याएको यो गाइले आठ महिनामा चार हजार चार सय १० लिटर दूध दियो। २१ वैशाख २०७४ मा दोस्रो बेत ब्याएपछि पाँच हजार दुई सय ८० लिटर दूध दिएको फार्म सञ्चालक शारदा शर्माले बताइन्।

‘पहिलो बेतको सुरुका चार महिना २२ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १७ लिटर र अन्तिम एक महिनामा आठ लिटरका दरले दूध दिएको थियो’, सञ्चालक शर्माले भनिन्, ‘दोस्रो बेतमा त चमत्कार नै भयो। सुरुका चार महिना २८ लिटरका दरले दूध दियो। त्यसपछिका तीन महिना १८ लिटर र अन्तिम एक महिना १० लिटरका दरले दूध दियो।’

गाईले वर्षभरि दूध दिने भए पनि क्रमशः दूधको मात्रा घटाउँदै लैजानुपर्ने उनी बताउँछिन्। ‘बाह्रै महिना दूध दुहुनु हुन्न। क्रमशः दूधको मात्रा घटाउँदै घटाउँदै आठ महिनामात्र दुहुनु पर्छ’, उनले भनिन्। गौथली अहिले फेरि गर्भिणी भएकी छे। हरेक वर्ष वैशाखमा ब्याउँछे।

 

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्