पर्खालको ताला तोडेर रातारात छाडा चौपाया नगरपालिकाभित्र थुनेपछि…


 


कञ्चनपुर, साउन ३१

लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले नगरपालिका कार्यालय बाहिर पर्खालको ढोकाको ताला तोडेर बुधबार साँझ ती चौपायालाई थुने ।

छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिने र झलारी वन समिति बजारक्षेत्रमा बसेर दुर्गन्धित बनाएकाले सास्ती खेप्दै आएका उनीहरूले झण्डै एक हजारको सङ्ख्यामा रहेका छाडा चौपायालाई नगरपालिका कार्यालय परिसरको पर्खालमा थुनेका हुन् ।

चौपाया नगरपालिका कार्यालयभित्र छिराउने क्रममा प्रहरीले रोक्ने प्रयास गरे पनि रोक्न सकेनन् । सयौँको सङ्ख्यामा रहेका स्थानीय बासिन्दा र ठूलो सङ्ख्यामा रहेका चौपायाका कारण पूर्व–पश्चिम राजमार्ग एक घण्टा जाम हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो ।

छाडा चौपायालाई अस्थायीरूपमा व्यवस्थापन गर्न नगरपालिकाले वडा नं ८ को गिठेमा लैजाने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले आक्रोशित सहभागीलाई बताएपछि उनीहरूले चौपायालाई नगरपालिकामै थुनेर फर्किएका थिए ।

छाडा चौपायाको दीर्घकालीन समाधानका लागि नगरप्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “वन तथा वातावरणलाई प्रतिकूल असर नपर्ने गरी सम्बन्धित सामुदायिक वन र वन कार्यालयसँग समन्वय गरी दिगोरूपमा चौपायको व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ” रासस

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्