नयाँ मुलुकी ऐन सुरु, पाँचवटा कानून लागू हुँदै (मुलुकी ऐनसहित)


 


काठमाडौं, भदौ १
आजबाट देशमा नयाँ मुलुकी ऐन सुरु भएको छ । एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै मुलुकी फौजदारी र देवानी संहितासहित आजबाट पाँचवटा कानुन एकसाथ लागू हुँदैछन्।

मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविविधि संहिता २०७४, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) संहिता २०७४ र मुलुकी देवानी कार्यविधि संहिता २०७४ शुक्रबारदेखि एकसाथ लागू हुँदैछन्।

यस वर्षको भदौ १ गतेदेखि नै लागू हुने गरि गत वर्ष नै राष्ट्रपतिबाट यी कानुनहरु प्रमाणीकरण भएका थिए ।

सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको बृहत् मस्यौदा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६८ सालमै बुझाइएको थियो।

संहिता निर्माणका लागि झन्डै एक सय कानुनमा परिवर्तन गर्नुपरेको छ। संहिता बनेसँगै २० वटा कानुन खारेजीमा परेका छन्। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले सुरुमा विक्रम संवत् १९१० मा मुलुकमा थिति बसाल्न धर्म, प्रथा र परम्पराका आधारमा मुलुकी ऐन बनाएका थिए।

सर्वोच्च अदालतले संहिता र कार्यविधि कार्यान्वयनका लागि पूर्ण तयारीमा रहेको जनाएको छ। तालिमप्राप्त तीन हजार एक सय कर्मचारी शुक्रबारदेखि कार्यथलोमा खटिने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

नयाँ मुलुकी ऐन हेर्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: १ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्