मोरङमा धोका दिएको भन्दै डेटिङमै प्रेमीकाको हत्या


 


विराटनगर, भदौ १

विराटनगर महानगरपालिका १३ का ३० वर्षीय दिनेश भट्राईलाई आफ्नी प्रेमीकाको हत्या गरेर भाग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको छ । भट्राईले प्रेमीका विराटनगर १३ की २३ वर्षीय शिखा घिमिरेलाई मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहा पुर्याएर विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।

प्रेमीकाको हत्या गरेर भाग्दै गर्दा स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर उनलाई प्रहरीको जिम्मा लगाएका छन् । केसीका अनुसार दुबै जना घुम्न भनेर आज विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले आफूसंग रहेको धारिलो हतियार दाउ प्रहार गरेर प्रेमीकाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । अनुहार, घाँटी, पेट लगायत शरीरका विभिन्न भागमा दाउ प्रहार गरेर विभत्स हत्या गरेपछि नहरको डिलमा शव फ्यालेर भाग्दै गर्दा घेरा हालेर भट्राईलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । धारिलो हतियार प्रहार गरिएको चोटका कारण शव चिन्न नै नसक्ने अवस्थामा थियो ।

नियन्त्रणमा लिन खोज्दा स्थानीय बासिन्दालाई आफूसंग रहेको छुरा निकालेर प्रहार समेत गर्न खोजेको र त्यस क्रममा छुराले भट्राईको हात समेत काटेको एसपी केसीले बताए । पक्राउ गरिएका भट्राईलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

भट्राईले प्रेमीकाले अरु केटासंग लागेर धोका दिंदै अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको स्वीकार गरेको गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुबै जना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

प्रकाशित मिति: १ भाद्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्