गाउँपालिकाका अध्यक्षको सह्रानीय कामः आफ्नो तलब बालबालिकालाई


 


म्याग्दी, भदौ ३
म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जनप्रतिनिधिका हैसियतले एक सह्रानीय काम गरेका छन् । उनले आफूले पाउने तलब बालबालिकाको लागि खर्च गर्न कोष स्थापना गरेका छन् ।

राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले उनले कोष स्थापना गरेका हुन् ।

गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराएको उनले बताए । उनले अहिलेसम्म १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिए ।

उनले आफू पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम कोषमा जम्मा गरेर गाउँपालिकाको आठवटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको बताए ।

गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्