प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता वितरण गर्दै नेकपा


 


काठमांडाै भदाै १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवासमा रहेका नेपालीलाई गोप्य रूपमा पार्टी सदस्यता वितरण गर्ने गरी संगठन विस्तारको तयारी गरेको छ।

पार्टी विधानको धारा ५० अनुसार निमार्ण हुन लागेको प्रवास कमिटीका सदस्यको परिचय गोप्य राख्नेगरी प्रवास विशेष कमिटी गठन गर्न लागिएको नेकपाका केन्द्रीय सदस्य युवराज कार्कीले जानकारी दिए।

प्रवास कमिटीबारे निर्देशिका बनाउन सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको चार सदस्यीय कार्यदलमा कार्की पनि सदस्य छन्।

कार्यदलमा केन्द्रीय सदस्य विन्दा पाण्डे र युवराज चौलागाईं पनि सदस्य रहेका छन्।

‘कतिपय मुलुकले कम्युनिष्ट पार्टीलाई मन पराउँदैनन्, त्यसैले सदस्यता लिएकै कारण प्रवासमा बस्ने नेपालीको रोजीरोटीमा असर नपरोस् भनेर पार्टी सदस्यता गोप्य रूपमा वितरण गर्ने प्रस्ताव गरिएको हो,’ कार्कीले सेतोपाटीसँग भने।

उक्त प्रस्ताव पार्टी सचिवालय बैठकले पारित गरेपछि प्रवासी कमिटीले काम सुरू गर्ने कार्कीले बताए।

कार्यदलले प्रवास क्षेत्रमा काम गर्नेगरि स्थापना गर्ने भनिएको प्रवास विशेष व्यूरोको नाम प्रवासी नेपाली एकता मञ्च प्रस्ताव गरेको छ।

सो मञ्चको हैसियत पार्टीको प्रदेश कमिटीसरहको हुनेछ।

भारत, पश्चिम एसिया, पूर्वी एसिया, युरोप, अमेरिका र ओसियाना राष्ट्रहरूमा क्षेत्रीय समन्वय समिति गठन गर्ने प्रस्ताव पनि कार्यदलले गरेको छ।

भारत र ओसियानाबाहेकका मुलुकमा क्षेत्रीय समिति बनाउँदा राष्ट्रिय समितिबाट एक जना अध्यक्ष र एक जना सचिव नियुक्त गर्ने प्रस्ताव कार्यदलको छ।

भारत र ओसियाना राष्ट्रमा भने पार्टी केन्द्रीय सदस्यहरूलाई इन्चार्जको जिम्मेवारी दिनुपर्ने कार्यदलको प्रस्ताव छ।

पूर्ण रूपमा लेभी तिर्ने कार्यकर्तालाई मात्रै प्रवासी नेपाली एकता मञ्चको सदस्यता दिने तयारी गरेको नेकपाले ५० जना सदस्य रहेको संगठनबाट १५ देखि २१ जनालाई राष्ट्रिय समितिमा मनोनयन गर्ने र पाँच  सयभन्दा बढी सदस्य भएको संगठनका १ सय २५ जनालाई राष्ट्रिय समितिको सदस्य बनाउने तयारी गरेको छ।

प्रस्तावअनुसार मञ्चमा संगठन, आर्थिक, प्रचार र सांस्कृतिक तथा अतिरिक्त विभाग तथा अनुशासन, निर्वाचन र लेखा आयोग हुनेछन्। अनौपचारिक फोरम भनेता पनि मञ्चलाई नेकपाले अरू भ्रातृ तथा भगिनी संगठनसरहको मान्यता दिनेछ।

मञ्चमा आवद्ध सदस्यहरूले मञ्चअन्तर्गतकै जनवर्गीय संगठन, जातीय र क्षेत्रीय संगठनबाहेक उही प्रकृतिका अरू संगठन खोलेर राजनीतिक गतिविधि गर्न नपाउने प्रावधान पनि ल्याउन लागिएको छ।

पार्टीकै आधिकारिक संगठन भएता पनि मञ्चका भेला तथा बैठकमा पार्टी झण्डा र विधान भने नराखिने र यस्ता संगठनले सामाजिक संस्थाको हैसियतमा काम गर्ने नेकपाले जनाएको छ।

प्रवासी कमिटीहरूलाई पार्टी सञ्चालनका लागि आवश्यक आर्थिक व्ययभार भरथेगको महत्वपूर्ण स्रोतका रूपमा लिइन्छ।

नेकपाले पनि आर्थिक सहयोग र पार्टीसँग कार्यकर्ताको सम्बन्ध रहिरहोस् भनेर प्रवासी नेपाली एकता मञ्च गठन गर्न लागेको हो। सो मञ्चमा पार्टी केन्द्रीय सदस्यहरूमध्येबाट इन्चार्ज र सहइन्चार्ज  नियुक्त गर्ने तयारी नेकपाको छ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका पनि प्रवासमा विभिन्न कमिटी थिए। माओवादी समर्थित संगठनहरू पार्टी संगठनकै हैसियतमा काम गर्थे भने एमाले समर्थित संगठन सामाजिक संस्थाको रूपमा पार्टी गतिविधि गर्दै आएका थिए।

‘अब बन्न लागेको प्रवासी नेपाली एकता मञ्च र सोअन्तर्गतका कमिटीहरू पहिलेको एमालेको जस्तो अनौपचारिक किसिमका हुनेछन्,’ केन्द्रीय सदस्य कार्कीले भने।

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्