खेलकुद कम्प्लेक्स निर्माण


 


khelkud complexभोजपुर, मंसिर ७
यहाँको सिद्धेश्वर गाविस दावाँमा कृष्णलक्ष्मी स्पोर्टस कम्प्लेक्स निर्माण भएको छ । २०७० फागुन महिनामा ठेक्का सम्झौता भएसँगै सुरु भएको कम्प्लेक्सको निर्माण कार्य सम्पन्न भएको हो ।

कम्प्लेक्स निर्माणका लागी २०७० मंसिर २८ गते राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव युवराज लामा तथा सिद्धेश्वर उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष श्रीबहादुर खड्काबिच निर्माणको सम्झौता भएको थियो । राष्ट्रिय खेलकुद परिषद तथा सिद्धेश्वर उच्च माविको संरक्षकत्वमा निर्माणाधिन कम्प्लेक्सको अनुमानित लागत ३ करोड ८३ लाख रहेको छ ।

पहिलो चरण अन्तरगत यतिबेला निर्माण भएको कम्प्लेक्सका लागि ८० लाख बजेट विनियोजन भएको थियो । पहिलो चरणको कम्प्लेक्स निर्माणका लागि प्रदेज निर्माण सेवाले ५२ लाखमा ठेक्का लिएको थियो ।

२०७० चैत्र देखि निर्माण शुरु भएको कम्प्लेक्स बर्षातका बेला सामान ढुवानी हुन नसक्दा केही समय ढिला भएको थियो । कम्प्लेक्सको २३ मिटर लम्बाई, १६ मिटर चौडाई र ३३ फिट उचाई रहको छ । कम्प्लेक्समा यो सेमि कवर्डहलको निर्माण भएको हो ।

निर्माणाधिन कम्प्लेक्समा सेमि कवर्ड हल साथै खेलाडी छात्रावास, एथ्लेटिक ट्रयाक, जिम खाना, इ लाइव्ररी, स्वागतद्धार, बाथरुम,शौचालय आगामी बर्ष क्रमश निर्माण हुने भएको छ । कम्प्लेक्स तीन वर्ष भित्र निर्माण सम्पन्न हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

जिल्लामा निर्माण भएको यो पहिलो खेलकुद कम्प्लेक्स हो । कम्प्लेक्स निर्माण हुन थालेपछि स्थानीय खेलाडीमा उत्साह थपिएको छ । खेल मैदान र यस्ता खेलकुद कम्प्लेक्स नहुँदा जिल्लामा समस्या थियो, दावाँली मिलन क्लबको भोजपुर संयोजक उत्तम खड्काले भने यो कम्प्लेक्स जिल्लाको खेलकुद विकासमा कोशेढुंगा साबित हुनेछ ।

अहिले पनि भोजपुरमा खेलकुद पुर्वाधारको अभाव छ । खेलकुद मैदान नहुँदा क्षेत्रिय तथा राष्ट्रिय स्तरका कतिपय खेलकुद प्रतियोगिता हुन सकेका छैनन् । खेलकुद पूर्वाधार अभाव दुर्गम जिल्लाको साझा समस्या हो, नेपाल भलिबल संघका केन्द्रिय सदस्य रोशन श्रेष्ठ भन्छन्, कम्प्लेक्स निर्माणले खेलकुद पुर्वाधारको समस्यालाई हल गर्नेछ ।

निर्माणाधिन कम्प्लेक्सको सदुपयोग हुन सके जिल्लाको खेलकुद क्षेत्रले फड्को मार्ने खेल क्षेत्रका अधिकारीहरुको भनाई छ । कम्प्लेक्स निर्माणका लागि समाजसेवामा सक्रिय काठमाडौंस्थित दावाँली मिलन क्लब तथा कृष्णालक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान लागि परेको थियो ।

निर्माणाधिन यस खेलकुद कम्प्लेक्सको जग्गा २०५४ सालमा स्व. कृष्णालक्ष्मी श्रेष्ठको स्मृतिमा उनका छोराहरु माधव प्रसाद श्रेष्ठ, दुर्गा प्रसाद श्रेष्ठ तथा स्व. श्रेष्ठका परिवारले खेलकुद विकासका लागि सिद्धेश्वर उच्च माविलाई प्रदान गरेका थिए । खेलकुद कम्प्लेक्स बन्दै गरेको जग्गाको क्षेत्रफल १२ रोपनी रहेको छ । सदरमुकामदेखी चार कोष पश्चिम दावाँ बजारमा जन्मेकी स्व. कृष्णलक्ष्मी श्रेष्ठको स्मृतिमा कम्प्लेक्स निर्माण भएको हो ।

प्रकाशित मिति: ७ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्