विदेश गएकाले कहिलेदेखि ल्याउन पाउनेछन् २ वटा मोबाइल ?


 


काठमाडौं, वैशाख ३१। जेठ १ गतेबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाहरूले २ वटा मात्र मोबाइल ल्याउन पाउने भएका छन् ।

सरकारले निजी प्रयोगका माल वस्तुसम्बन्धी आदेश २०७७को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने व्यवस्था गरेको छ ।

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेठ ०१ गते देखि एमडिएमएसप्रणाली लागु गरिने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडिएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।

नेपाल सरकारको ‘निजी प्रयोगका माल वस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले राहदानी वा नागरिकता, डिपार्चर र अराइभल स्ट्याम्प देखिने राहदानीको पाना र बोर्डिङ पासको कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली मा दर्ता भए÷नभएको यकिन गरी मात्र खरिद गर्नु प्राधिकरणले भनेको छ ।

साथै मोबाइल आयातकर्ता र विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गराउनुपर्नेछ ।

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्