अवैध संरचना भत्काएको विरोधमा प्रदर्शन, बाह्रबीसेमा निषेधाज्ञा


 



सिन्धुपाल्चोक, माघ ५
सिन्धुपाल्चोकमा बाह्रबीसे नगरपालिकाले अतिक्रमित घर–टहरा भत्काएपछि विरोध प्रदर्शन भएको छ । स्थानीयले विरोधमा प्रदर्शन भएपछि प्रशासनले सिन्धुपाल्चोकको बाह्रबीसेमा निषेधाज्ञा जारी गरेको छ।

नगरपालिकाले शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा भत्काइएको थियो । विरोधका बीच नगरपालिकाले अनधिकृत घर–टहरा भत्काएपछि बाह्रबीसेमा प्रदर्शन भएको थियो । नगरपालिकाको कदमबाट रुष्ट प्रदर्शनकारीले शनिबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै गमलालगायतमा तोडफोड गरेका थिए ।

स्थानीयको प्रदर्शनले हुलदंगा र अशान्ति हुने देखिएपछि त्यसो हुन नदिन आइतबार बिहान ८ बजेबाट साँझ ५ बजेसम्मका लागि बाह्रबीसे बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले अनलाइनखबरलाई जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा जारी सूचनामा बाह्रबीसे बजारबाट ३ सय मिटर पूर्व र पश्चिममा भोटेकोसी खोला (पुल राम्चे) सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रशासनले उत्तरमा इलाका प्रहरी कार्यलय बाह्रबीसे नगरपालिका ४ र बाह्रबीसे बजारबाट पिस्कर क्षमादेवी जानेबाटोको सुनकोसीसम्म पनि आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म प्रदर्शन र भेला गर्न निषेध गरेको छ ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्