भागबण्डाले पार्टी चल्दैन : प्रवक्ता श्रेष्ठ


 



बागलुङ, माघ ५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भागबण्डाले कुनैपनि पार्टी चल्न नसक्ने बताएका छन् । पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै उनले अब पनि भागबन्डाका पनि लाग्न नहुने बताए ।

प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउनुपर्ने बताए ।

‘एमाले र माओवादी भन्ने इतिहास हो’, श्रेष्ठले भने, ‘नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।’ उनले उपसभामुखको राजीनामा आउनेमा पनि नेकपा ढुक्क रहेको बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने उनले विश्वस्त पारे।

नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने पनि बताए । ‘एमसिसीको योगदान सकारात्मक र राष्ट्रको हितमा रहेको छ,’ उनले भने, ‘यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’

राष्ट्रियसभाको उम्मेदवारसमेत रहनुभएका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताए ।

प्रकाशित मिति: ५ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्