आयात–निर्यातमा महत्वपूर्ण ‘ब्रेक थ्रु’


 


विराटनगर, माघ ६

नेपाली निर्यातकर्ताले कृषि तथा खाद्य वस्तु परीक्षण गर्न कोलकाता जानुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।

बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी (आइसीपी ) मङ्गलबारदेखि सञ्चालनमा आउने भएपछि यो बाध्यता अन्त्य हुने भएको छ । अहिलेसम्म नेपाली कृषि तथा खाद्य वस्तु निर्यात् गर्दा कोलकाता पठाउनुपर्ने, हप्तौंपछि त्यसको रिपोर्ट आउने बाध्यता थियो । ‘अहिले त परीक्षण भएर आउँदा ताजा कृषि वस्तु कुहिने डर थियो’, कृषि वस्तु निर्यातकर्ताहरु भन्छन् ‘तर, विराटनगरमा आइसीपी सुचारु भएपछि यो बाध्यता हट्नेछ ।’

कृषि तथा खाद्य वस्तु परीक्षणका क्रममा नेपालमा भएको परीक्षणलाई भारतीय पक्षले मान्यता नदिँदा समस्या थियो । यसको मारमा अदुवा, अलैंची, टमाटर जस्ता कृषि वस्तु निर्यात् झन्झटिलो थियो । अब विराटनगरमा संयुक्त प्रयोगशाला हुने र त्यसलाई दुवै देशले मान्यता दिनेछन् । यसलाई आयात–निर्यातमा महत्वपूर्ण ब्रेक थ्रु मान्न सकिने जानकारहरु बताउँछन् ।

नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण मञ्च कार्यालयका प्रमुख हिमाल बरालले जानकारी दिनुभयो ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण  सन् २०१६ देखि शुरु भएको हो । 

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए । विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ ।  जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो । 

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्