देशमै पहिलो पटक छाउप्रथा सम्बन्धी मुद्दामा कैद सजाय


 



अछाम, माघ १०
अछामको शिद्धेश्वर नगरपालिकामा छाउगोठमा मृत्यु भएकी महिलाका जेठाजुलाई कैद सजाय सुनाइएको छ । छाउगोठमा ज्यान गुमाउनुभएकी २१ वर्षीय पार्वती बुढाका जेठाजु छत्र रावतलाई जिल्ला अदालत अछामले एक महिना १५ दिन कैद सजाय सुनाएको हो ।

यससंगै उहाँ छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानुनी कारबाहीमा कैद सजाय सुनाइएका पहिलो व्यक्ति हुनुभएको छ । महिलाका जेठाजु रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले एक महिना १५ दिन कैद फैसला सुनाएको अदालतका श्रेष्तेदार प्रेमप्रकाश थापाले बताउनुभयो ।

उहाँकाअनुसार रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बस्नुभएको थियो । रावतलाई भेदभाव तथा अन्य अपमानजनक शीर्षकमा गएको पुस १३ गते मुद्दा दर्ताको पछिल्लो दिन १५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको थियो ।

एक वर्षभन्दा कम कैद सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपैयाँका दरले बुझाएर जान मिल्ने भएका कारण रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको छ हजार रुपैयाँ बुझाएर जानुभएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

रावतकी भाइबुहारी बुढाको मङ्सिर १५ गते राति छाउगोठमै मृत्युपछि प्रहरी प्रतिवेदका आधारमा घरमूली रहेका छत्र रावतलाई सोही महिनाको १९ गते पक्राउ गरिएको थियो । अछाममा एक दशक यता १५ जना महिला तथा किशोरीको छाउगोठमा ज्यान गइसकेको छ ।

अछाममा सन् २००७ यता १५ जना महिला तथा किशोरीको मृत्यु छाउगोठमै बसेका कारण भइसकेको छ । मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

रावतको मृत्युपछि साँफेबगर नगरपालिकामा छाउगोठ भत्काउने अभियान सुरु गरिएको थियो । नगरप्रमुख कुलबहादुर कुँवरले छाउगोठमा बस्ने र बस्न लगाउनेलाई कारबाही गर्ने घोषणा गर्नुका साथै छाउगोठ भत्काउने अभियान सुरु गर्नुभएको थियो ।

नगरपालिकाको घोषणापछि नेपाल सरकारले पनि छाउपडी प्रथा रहेका क्षेत्रमा बनाइएका छाउगोठ भत्काउने निर्णय गरेको थियो । सरकारको निर्देशनपछि अछाम जिल्लासहित सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा छाउपडी गोठ भत्काउने अभियान सुरु गरिएको छ ।

तीन हजार छाउगोठ भत्काइयो
यो अभियान अन्तर्गत अछाममा मात्रै एक महिनाको अवधिमा झण्डै तीन हजार छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय अछामकाअनुसार जिल्लामा हालसम्म दुई हजार नौं सय ४४ गोठ भत्काएको छ ।

जिल्लामा हालसम्म सबैभन्दा बढी ढकारी गाउँपालिकामा छाउगोठ भत्काइएको छ भने त्यसपछि साँफेबगर नगरपालिकामा भत्काइएका छ । साँफेबगर नगरपालिकामा चार सय ११, मंगलसैनमा दुई सय ४०, विनायक नगरपालिकामा दुई सय २६, कमलबजार नगरपालिकामा एक सय २९, ढकारी गाउँपालिकामा पाँच सय १३ तुर्माखाँद गाउँपालिकामा तीन सय ९६ छाउगोठ भत्काइएका छन् ।

यस्तै, मेल्लेख गाउँपालिकामा तीन सय ७०, रामारोशन गाउँपालिकामा एक सय ६९, चौरपार्टी गाउँपालिकामा तीन सय र बान्नीगढी जैगढ गाउँपालिकामा एक सय ९० छाउपडी गोठहरु भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी उपरीक्षक अवस्थीले जानकारी दिनुभयो ।

जिल्लामा अहिले कतै छाउगोठ भत्काउने अभियान जारी छ भने कतै भत्काइसकेर पनि अनुगमन गर्न सुरु गरिएको छ । छाउगोठ भत्काइसकेपछि जिल्लालाई फागुन मसान्तसम्म छाउगोठ मुक्त जिल्ला घोषणा गर्र्ने तयारी पनि गरिएको छ ।

सोही योजनाअनुसार जिल्लाका सबै स्थानीय तहका छाउगोठ भत्काउने अभियानलाई तीब्रता दिइएको छ । जिल्लालाई छाउगोठ मुक्त बनाउन त्यसअघि स्थानीय तहलाई छाउगोठ मुक्त बनाइने छ । त्यस अन्तर्गत साँफेबगर नगरपालिका छाउगोठ मुक्त बनाउने कार्यको अन्तिम चरणमा पुगिसकेको छ ।

नगरपालिकाका सबै छाउगोठ भत्काइसकेपछि अहिले अनुगमनको काम भइरहेको छ । अनुगमन सकेपछि छाउगोठ नभएको सुनिश्चित भएपछि नगरपालिकालाई छाउगोठ मुक्त स्थानीय तह घोषणा गरिने नगरप्रमुख कुँवरले बताउनुभयो ।

छाउगोठमा बस्ने र बस्न प्रेरित वा दबाब दिनेलाई स्थानीय तहबाट दिइने सेवाबाट वञ्चित गरेर कानुनी कारबाही थालिने स्थानीय जनप्रतिनिधिले यसअघि नै प्रतिबद्धता गरिसकेका छन् ।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्