अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट


 


काठमाडौं, माघ १०

सभामुखका उम्मेदवार अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेतासमेत रहेका सभामुख पदका लागि प्रस्तावित उम्मेदवार सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको हो।
अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै रिट निवेदन दर्ता गरेका हुन्।

काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा अदालतमा सापकोटाविरुद्ध विचाराधिन मुद्दा रहेकै अवस्थामा उनलाई नेकपाले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गराउन लागेको आरोप लगाउँदै त्रिपाठीले उनलाई सभामुख निर्वाचित हुनबाट रोक्न र कानूनी कारवाही अघि बढाउन तत्काल पक्राउ गर्नुपर्ने जिकिर गरेका छन्। साथै त्रिपाठीले उनलाई सभामुख निर्वाचित गराउने प्रक्रिया रोक्न पनि अदालतको आदेशको माग गरेका छन्।

सापकोटाविरुद्ध अदालतमा विचाराधिन मुद्दा अघि बढाउने वा नबढाउने भन्नेबारे अदालतले माघ २२ गतेका लागि पेशी तोकेको छ।

नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि आफ्नै कार्यालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा असोज १४ गते पदमुक्त भएपछि रिक्त रहेको सभामुख पदका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेको छ। जसमाथि प्रतिनिधिसभामा आइतबार निर्णय हुँदैछ।

सापकोटालाई सभामुख पदका लागि नेकपाले अघि सारेपछि विभिन्न मानव अधिकारवादी संघ संस्थाले उनको विरोधमा सडकमा प्रदर्शन जारी राखिरहेका छन्।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्