भ्रष्टाचारका उजुरी धमाधम


 


बैतडी, माघ १०
पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भ्रष्टाचारका उजुरी बढेको जनाएको छ ।

कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लामध्ये बैतडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका उजुरी धेरै पर्नेमा तेस्रोमा रहेको छ । स्थानीय तहका भ्रष्टाचारसम्बन्धी धेरै उजुरी पर्ने जिल्लामा कैलाली र कञ्चनपुरपछि बैतडी रहेको कार्याललय प्रमुख बाबुराम खतिवडाले जानकारी दिनुभयो ।

जिल्लामा गत वर्षभन्दा चालू वर्षमा उजुरी बढेको पाइएको छ । स्थानीय तहमा भएका आर्थिक अनियमितता, दुरुपयोगलगायत उजुरीको चाप बढ्दै गएको हो । चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४० उजुरी दर्ता भएका छन् । गत आवको सो अवधिमा २९ उजुरी मात्रै दर्ता भएका थिए । चालू वर्षमा परेका उजुरीमध्ये हालसम्म १६ उजुरी फछ्र्योट भएको प्र्रमुख खतिवडाले बताउनुभयो । यस्तै गत वर्ष ९६ उजुरी परेकामा ३० उजुरी फछ्र्योट भएका थिए ।

स्थानीय तहबाहेक जिल्लाका अन्य सरकारी कार्यालयले गरेका भ्रष्टाचारका उजुरी पर्ने क्रम बढ्दो छ । स्थानीय तहले सञ्चालन गरेका विकास निर्माणसम्बन्धी आयोजनामा भएको हिनामिनाको उजुरी सबैभन्दा बढी पर्ने गरेको कार्यालयले जनाएको छ । अख्तियारले पछिल्लो समय सक्रियता देखाएसँगै उजुरी बढेको कार्यालयको जिकिर छ ।

प्रकाशित मिति: १० माघ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्