पार्कर दिनेश सुनारले राखे चौथो पटक वर्ल्ड रेकर्ड


 


काठमाडौं, माघ ११
‘अमेरिका गट्स ट्यालेन्ट’मा सहभागी भएका पार्कर खेलाडी दिनेश सुनारलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले चौथो प्रमाणपत्र दिएको छ ।

गिनिज बुकमा तीन पटक नाम लेखाएका सुनारले फेरि अर्को किर्तिमानको अभ्यास गरेका थिए । उनको ५ जनवरीको अभ्यासको प्रमाणपत्र शनिबार दिएको सुनारले बताए ।

भिजिट नेपाल २०२० लाई लक्षित गरी सुनारले अमेरिकामा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’मा ४ सय ६० पटक ब्याकफिल्प्स् (भित्तामा उल्टिजम्प) गरी नयाँ किर्तिमान कायम गरेका हुन् ।

विश्वमा यो प्रकारका किर्तिमान हालसम्म कसैले बनाएको छैन । ०४८ सालमा राजापानीमा जन्मिएका सुनार जिम्न्यास्टिकमा रुची राख्ने खेलाडी हुन् । उनले सोही ठाउँमा बाख्रा चराउन जाँदा या अन्य कामका लागि गाउँघर, बगरमा उल्टी जम्पको अभ्यास गर्थे ।

गिनिजबुकमा रेकर्डमाथि रेकर्ड राख्ने सुनार नेपालमा नयाँ मानिने पार्कर खेलमा रहेकै कारण राज्यले गतिलो गरी ध्यान दिएको छैन । सशस्त्र प्रहरी बलमा जवान पदमा ०६९ सालमा भर्ना भएका थिए । संगठनमा आएपछि पनि उनले कामलाई निरन्तरता दिएका थिए ।

अहिले उनले उक्त पदबाट राजीनामा गरिसकेका छन् । सशस्त्र प्रहरीका तत्कालिन महानिरिक्षक (आईजी) सनत बस्नेतले सुनारको सोही कला देखेर जागिर लगाएका थिए ।

दुई बर्ष अघि २०१८ मा नै वल्र्ड फ्रि रनिङ पार्कर फेडेरेशनको निम्तोमा सुनार अमेरिकाको फ्लोरिडामा वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि पुगेका थिए । नेपाली फिल्महरू हवल्दार सुन्तली, हँसिया, किस्मत–२ लगायतमा उनले स्टन्ट म्यानको काम गरिसकेका छन् ।

प्रकाशित मिति: ११ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्