छाउपडी गोठ भत्काउँदा शिक्षक नै उत्रिए अवरोधमा, प्रहरीमा उजुरी


 



अछाम, माघ १२
अछामको चौरपाटीमा छाउपडी गोठ भत्काउने अभियानमा अवरोध गर्ने शिक्षकविरुद्ध उजुरी हालिएको छ । चौरपाटी गाउँपालिका ४ पायलको अमरसैनमा छाउपडी गोठ भत्काएको गालीगलौच गर्ने सोही ठाउँको मष्टामाण्डौ आधारभुत विद्यालयका शिक्षक खम्म धामी विरुद्ध उजुरी परेको हो ।

छाउगोठ भत्काउनेक्रममा शिक्षक धामीले वडाध्यक्ष हर्क लोहारलाई गालीगलौज गर्नुभएको थियो । शिक्षक जस्तो चेतनशील मान्छेले छाउप्रथाविरुद्ध आवाज उठाउनुको सट्टा गोठ भत्काउने भन्दै आफूलगायतलाई गाली गलौज गरेपछि जनप्रतिनिधिको हैसियतले चुप लाग्ने नमिल्ने भन्दै उजुरी दिएको अध्यक्ष लुहारले बताउनुभयो ।

लोहारले सिउडी प्रहरी चौकीमा कानूनी कार्वाहीको माग गर्दै शनिबार नै उजुरी दिएपनि काँग्रेस निकट धामीको पक्षमा नेपाली काँग्रेसका नेता कार्यकर्ताको चर्को दवाव थेग्न नसकेर प्रहरीले शनिबार नै छाडेको छ । यद्यपि सिउडी प्रहरी चौकीका प्रमुख असई जयसिंह भण्डारीले धामीविरुद्ध उजुरी आएको र आवश्यक परे फेरि पक्राउ गर्न सकिने बताउनुभयो ।

अछामका प्रहरी प्रमुख दीपक भारतीले पनि आफूले यस विषयमा सोधपुछ गरिरहेको बताउनुभएको छ । उहाँले शिक्षक धामी दोषी देखिए कार्बाही गरिने विश्वास दिलाउनुभयो । वडा नम्बर ४ पायलमा एक सय छ छाउगोठ भत्काएको छ ।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्