डलर साट्ने बाहानामा चोरी गर्ने दुई इरानी नागरिक पक्राउ


 



काठमाडौं, माघ १२
डलर सटही गर्ने बाहानामा चोरी गर्ने दुई इरानी नागरिक पक्राउ परेका छन् । डलर साँट्नै भन्दै हजार र पाँच सय रुपैंयाको दुई वण्डलबाट ६६ हजार रुपैंया चोरी गरेर फरार भएका दुई इरानी नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले शुक्रबार इरानका अलि मलिक र उनका साथी वाहिद अजिमिकलाई नियन्त्रणमा लिएको हो। ताहचलस्थित प्रश्ना मनी एक्सचेन्जमा गएर उनीहरुले डलर सटही गर्नु अगाडि पैसाको बण्डल मागेका थिए। पैसाको बण्डल समातेर पाँच मिनेटमै एक्सचेन्जमै फिर्ता गरे पनि उनीहरुले उक्त वण्डलबाट ६६ हजार रुपैंया झिकिसकेका थिए।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डिएसपी रुगम कुवँरका अनुसार जनवरी ६ मा यी दुई ईरानी नेपाल आएका थिए। नेपाल आउजाउ गरिरहने गरेको उनीहरुको राहदानीले बताउँछ। अलिमात्रै हालसम्म ६ पटक नेपाल आइसकेका छन् ।

प्रहरीले सीसीटीभी फुटेजको आधारमा ईरानीद्वयले चढेको स्कुटर नम्बर पत्ता लगाएर अनुसन्धान थालेको थियो। स्कुटर एक सहकारीको नाममा निकालेपनि भाडामा लगाउने गरेको पाईएपछि प्रहरी मोटरसाइकल ग्यारेजसम्म पुग्यो।

उनीहरुले राहदानी छाडेर स्कुटर लगेको पाईएपछि ग्यारेजमा कुरेरै पक्राउ गरिएको जानकारी डिएसपी कुँवरले दिए। सहकारीको रकम चोरेर उनीहरु ठमेलका विभिन्न होटलमा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्