संसद्को गरिमा उच्च राख्छुः सापकोटा


 


काठमाडौं, माघ १२

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गर्नुभयो । उहाँले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी नेकपा तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो ।
सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनुहुनेछ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको हो । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो ।

प्रकाशित मिति: १२ माघ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्