कोरोना भाइरसः विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा




काठमाडौं, माघ १७
नयाँ कोरोना भाइरसले चीनमा अहिलसम्म दुई सय ३० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

एक हप्ताको अन्तरमा कोरोनाभाइरसबाट संक्रमितको सङ्ख्या १० गुणा वृद्धि भएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ। तर चीनबाहेक अन्य देशमा कोरोना भाइरसका कारण ज्यान गएको छैन। धेरैजसो चीनको वुहान क्षेत्रबाट विदेश गएकाहरु नै प्रभावित भएका छन्।

कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने भय रहेको डब्लुएचओले जनाएको छ। यो भाइरसको संक्रमण विश्‍वभर दुई दर्जन मुलुकमा फैलिइसकेको बीबीसीले जनाएको छ।

नेपालमा चीनको वुहानबाट आएका ३२ वर्षीय एक युवामा कोरोना भाइरसको संक्रमण भएको बताइएको छ। उनलाई पर्याप्त परीक्षण र उपचार गरेर अस्पतालबाट फिर्ता पठाइएको छ। भारतमा बिहीबार मात्रै एकजनामा कोरोना भाइरस देखा परेको थियो।

अमेरिका, जर्मनी, जापान, भियतनामलगायतका मुलुकमा पनि कोरोना भाइरसका बिरामी फेला परेको बीबीसीमा जनाइएको छ। अस्ट्रेलियामा यसका सात बिरामी भेटिएका छन्। सिड्नी, मेलबर्न र गोल्ड कोस्टस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

कम्बोडियामा पनि पहिलो पटक कोरोना भाइरस संक्रमित बिरामी भेटिएका हुन्। हङकङमा अहिलेसम्म १० जनामा कोरोना भाइरसको पुष्टि भएको छ। जापानका स्वास्थ्य अधिकारीले बिहीबार दिएको जानकारी अनुसार अहिलेसम्म ११ जना कोरोना भाइरसका विरामी दर्ता भएका छन्।

मकाउमा पनि मंगलबारसम्म सात जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ। यो क्षेत्र चिनीया पर्यटकको लागि चर्चित क्षेत्र हो । मलेसियामा पनि आठ जनामा यस भाइरसको संक्रमण देखिएको छ।

फिलिपिन्समा बिहीबार नै यस रोग लागेका पहिलो बिरामी भेटिएका छन्। चीनको छिमेकी मुलुक सिंगापुरमा अहिलेसम्म १० जना कोरोनाका बिरामी रहेका छन्। दक्षिण कोरियाका संचार माध्यमका अनुसार देशभर अहिलेसम्म चार जनामा यो रोगको संक्रमण भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन्।

श्रीलंकामा गत सोमबार पहिलो पटक एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। ताइवानमा आठ जनामा यो रोग देखिएको छ। थाइल्यान्डले आफ्नो देशमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको घोषणा गरेको छ। यो संख्या चीनबाहेक अन्य देशमा भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै हो।

भियतनाममा पनि दुई जनामा यो रोग देखिएको छ। संक्रमितमध्ये एक पुरुष चीनका हुन्।
क्यानडामा दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरिएको छ। अर्का एक जनामा पनि सो भाइरस भएको आशंकामा परीक्षण भइरहेको छ।

स्वास्थ्य अधिकारीका अनुसार अमेरिकामा अहिलेसम्म पाँच जनामा यो रोगको संक्रमण पुष्टि भएको छ। उनीहरू सबै जना हालै वुहानबाट आएका हुन्। फ्रान्समा अहिलेसम्म पाँच जनामा यो रोगको संक्रमण देखिएको छ। युरोपेली देशमध्ये फ्रान्समा नै पहिलो पटक यो रोगको संक्रमण पुष्टि भएको हो।

जर्मनीमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो मानिसबाट मानिसमा सरेको पाइएको छ। भाइरस देखा परेकाहरुमा अधिकांश चिनीया नागरिक नै छन् । चिनीया नागरिकबाट सम्बन्धीत देशका व्यक्तिमा पनि सरेर भाइरस फैलिरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News