कांग्रेस सांसदविरुद्ध उजुरी, योजना दिन्छु भन्दै पैसा खाएको आरोप




काठमाडौं, माघ २२
काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पार्वता डिसी चौधरीविरुद्ध सचिवालयमा उजुरी परेको छ । सांसद चौधरीमाथि ठगेको आरोपमा उजुरी परेको हो ।

दाङको तत्कालीन गढवा गाविसका कांग्रेस उपसभापति समेत रहेका कृष्णराज पाण्डे र लिलाबहादुर थापाले सांसद चौधरीमाथि ८ लाख ठगी गरेको आरोप लगाउँदै उजुरी दिएका छन्।

सांसद चौधरीले २०७४ सालमा शुरुमा तीन लाख र पछि ५ लाख समेत गरी आठ लाख रुपैयाँ लिएकोमा पटक-पटक आग्रह गर्दा पनि फिर्ता नदिएपछि उजुरी गर्नु परेको पाण्डेले बताए । पार्टीमा पटक-पटक उजुरी गर्दा पनि सुनुवाई नभएपछि संसद सचिवालय गुहार्नुपरेको उनको भनाइ छ ।

संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर सोमबार दर्ता गरिएको उजुरीमा सांसद चौधरी आफूहरुको सम्पर्कमा आउन नचाहेकाले उनलाई झिकाएर रकम दिलाइदिन आग्रह गरिएको छ ।

संसद सचिवालयले उजुरी दर्ता भएको, तर यसबारे के गर्ने भन्ने जानकारी नभएको बताएको छ । सचिवालयका एक अधिकारीले यस्तो खाले उजुरी पहिलोपटक आएकाले सभामुखसँग छलफल गरिने बताए ।

सांसद चौधरीले योजना पारिदिने भन्दै त्यसवाफत अग्रिम कमिसन माग्ने गरेको दाङका जनप्रतिनिधिहरु बताउँछन् । कांग्रेस सांसद चौधरी दोस्रो संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् । कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी चौधरी हाल प्रतिनिधिसभामा समानुपातिकबाट सांसद छिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News