सुदूरपश्चिममा प्रदेश बस सञ्चालन अन्योलमै, डेढ वर्षसम्म पनि अघि बढेन प्रक्रिया




अंकुश कुँवर
धनगढी, माघ २२
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश बस सञ्चालन गर्ने भनेर गरेको घोषणा कागजमै सीमित बन्न पुगेको छ । गत आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा राखिएको प्रदेश बस सञ्चालन योजना अझै अन्योलमै रहेको छ ।

चालू आर्थिक वर्ष २०७६÷७७ मा पनि बस कसरी सञ्चालन गर्ने भनेर निक्र्योल हुन सकेको छैन । बस सञ्चालनका लागि प्रदेशको भौतिक तथा योजना मन्त्रालयले कुनै प्रक्रिया नै अगाडि बढाउन सकेको छैन ।

गत आर्थिक वर्षको बजेट आउँदा आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले तीन महिना भित्रै प्रदेश बस सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । तर, अर्को वर्षको पनि सात महिना वित्नै लाग्दा पनि त्यसका लागि आवश्यक प्रक्रिया पनि अगाडि बढ्न सकेको छैन । कागजमा प्रदेश सरकार आफ्नै बस सञ्चाल गर्ने नीति बनाए पनि सडमा गुडाउन सकस परेको छ ।

यातायात पूर्वाधार निर्देशनालय डोटीका निर्देशक प्रेमदत्त भट्टले बस सञ्चालन सम्बन्धी ऐन नियमावली, सडकको अवस्थामा अध्ययन र कार्ययोजना नबनेसम्म बस सेवा सञ्चालन हुन नसक्ने बताए ।

‘अहिलेसम्म कुन ढंगबाट बस सञ्चालन गर्ने भन्ने विषय टुंगा लाग्न सकेको छैन,’ उनले भने, ‘प्राधिकरण, निगम वा कम्पनीमार्फत जानुपर्ने देखिएको छ, यसमध्ये एकको माध्यमबाट बस चालउन सकिन्छ ।’ तर, उनले अहिलेसम्म कुनै निर्णय भइनसकेको बताए ।

उनले निगमबाट बस सञ्चालन गर्दा सजिलो देखिएको तर निर्णय नभएको बताए । उनकाअनुसार मन्त्रालयले यसअघि प्राधिकरण गठन गरेर बस सञ्चालन गर्ने कि भनेर अवधारणा पनि बनाइएको थियो । तर, वृहत खालको हुने भएपछि निगम वा कम्पनीमार्फत जान सजिलो देखिएको छ । विज्ञहरुबाट निगमन वा कम्पनीमार्फत बस सञ्चालन गर्दा सजिलो हुने सुझाव आएको निर्देशक भट्टले बताए ।

उनले बस सञ्चालका लागि कुनै समस्या नभएको तर, दिगोपनका लागि मन्त्रालयले सोचिरहेको मन्त्रालयका सचिव इन्द्रदेव भट्टले बताए । ‘प्रदेश बस सञ्चालन गर्नु भनेजस्तो सजिलो छैन,’ उनले भने, ‘पूर्ण तयारी गरेर मात्रै निर्णय लिनुपर्ने छ ।’

अहिलेसम्म कहिलेदेखि बस चलाउन सकिन्छ भन्ने विषयमा मन्त्रालयले यकिन गर्न सकेको छैन । अर्कोतर्फ निजी बस व्यवसायीहरुसंग मिलेर पनि बस सञ्चालन गर्न सकिन्छ कि भन्ने विषयलाई पनि विकल्पमा राखेको छ ।

यातायात निर्देशक भट्टकाअनुसार सरकारले सस्तोमा बस चलाएपछि निजी बस व्यवसायीहरु पनि मारमा पर्ने भएकाले उनीहरुसंगै मिलेर पनि बस सञ्चालन गर्न सकिने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । जसका लागि प्रदेश सरकारको शेयर रहने छ ।

दुई वर्ष लगातार बजेट छुट्याएपनि बजेट फ्रिज गइरहेको छ । गत आर्थिक वर्षमा सरकारले २० करोड रुपैयाँ बजेट छुट्याए पनि खर्च हुने सकेन । यस वर्ष पनि प्रदेश बस सञ्चालका लागि १३ करोड रुपैयाँ बजेटमा छुट्याएको छ ।

प्रदेश बस सञ्चालन प्रदेशका ९ वटै जिल्लामा सञ्चालन गर्ने कार्यनीति छ । तर, अहिले यो कार्यक्रमलाई सूचारु गन तराईका कैलाली, कञ्चनपुर र पहाडका डडेल्धुरा, डोटी जिल्लामा सञ्चालन गर्ने कि भन्ने कोणबाट पनि छलफल भइरहेको छ ।

प्रदेशमा बस सञ्चालका लागि ग्रिड कन्सलटेन्सीले अध्ययन अनुसन्धान गरेको हो । टोलीले डोटी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका विभिन्न रुटहरुको अध्ययन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News