गरिमा धान पीडित किसान क्षतिपूर्ति माग्दै, प्रदेश कृषि मन्त्रालय घेराउ




धनगढी, माघ २३
कैलालीका गरिमा धान पीडित किसानहरु आन्दोलित भएका छन् । सरकारले धानको क्षतिपूर्र्ति नदिएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

बुधबार जिल्लाको गौरीगंगा नगरपालिकाका किसानहरुले धनगढी पुगेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय घेराउ गर्दै क्षतिपूर्ति माग गर्नुका साथै मुख्यमन्त्री कार्यालय पुगेर ज्ञापन पत्र बुझाए ।

चौराहाबाट नाराबाजी गर्दै कृषि मन्त्रालय पुगेर एक घण्टा धर्ना दिएका किसानहरुले मन्त्री विनिता चौधरीलाई ज्ञापनपत्रसमेभ बुझाए । कृषिमन्त्रीलाई ज्ञापनपत्र बुझाएर किसानहरुले नारा जुलुस गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर ज्ञापन पत्र बुझाए ।

मुख्यमन्त्री त्रिलोचन भट्ट काम विशेषले बाहिर रहेका कारण किसानहरुले आफ्ना गुनासा र मागसहितको ज्ञापनपत्र सिधै राख्न पाएनन् । किसानहरु प्रदेशका मुख्य सचिव बालकृष्ण घिमिरेमार्फत् मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएर फर्किए ।

त्यसअघि कृषि मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै किसान संघर्ष समितिका संयोजक बासुदेव गुरागाईले सरकारले अब राहतका नाममा किसानलाई झुक्याउने काम नगरेर धानको क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । उहाँले किसान ठग्ने कम्पनीलाई पनि कानूनी कारबाही गर्नुपर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझ्दै कृषिमन्त्री चौधरीले किसानलाई क्षतिपूर्ति दिलाउनका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले किसानलाई क्षतिपूर्ति दिनका लागि संघीय सरकारले प्रक्रिया अगाडि बढाइसकेको र एकद्वारा प्रणालीबाट नै क्षतिपूर्ति दिइने बताउनुभयो ।

पीडित किसानहरुको तथ्यांक संकलन गरेर केन्द्रीय मन्त्रालयमा पठाइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘संघीय सरकारले जस्तो नीति बनाउँछ त्यसरी नै प्रदेश र स्थानीय सरकारले क्षतिपूर्ति वा राहत दिइनेछ, त्यसका लागि पहल गर्ने काम हामी गरिरहेका छौं ।’

कृषिमन्त्री चौधरीले गरिमा पीडित किसानलाई प्रदेश सरकारले तत्कालका लागि धानको विउ र मलमा सहयोग गर्न सक्ने बताउनुभयो ।

धान बेच्ने किसान अहिले किन्दै
विगतका वर्षहरुमा धान विक्री गर्ने किसान यस वर्ष भने धान खरिद गरेर खान बाध्य भएका छन् । खेतमा गरिमा धान भनेर लगाइएको धान एक मानो पनि नफलेपछि किसानहरु अन्यत्रबाट धान खरिद गरेर छाक टारिरहेका हुन् ।

डेढ विगाहमा लगाइएको धान नफलेपछि किनेर खानुको विकल्प नरहेको गौरीगंगा नगरपालिका वडा नम्बर ७ का पीडित किसान तुलाराम जोगीले दुखेसो पोख्नुभयो । उहाँले अहिले गरिमा धानको नाममा नक्कली धान दिएर किसानलाई धोका दिइएकाले त्यसको क्षतिपूर्ति दिनुपर्ने उहाँको माग छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर ११ का चौकीदार चौधरीले विगतका वर्षमा धान बेच्दै आएकोमा आफूले यस वर्ष ३६ हजार रुपैयाँको धान खरिद गरेको बताउनुभयो । ‘अदियालगायत गरेर ६०÷६५ क्वीन्टल धान आउँथ्यो,’ उहाँले भन्नुभयो, ‘यस वर्ष त सुख्खा भइयो, सात जनाको परिवार पाल्न धान किनेर खानुको पनि विकल्प भएन ।’

अर्का किसान मणिरत्न कँडेलले पनि यस वर्ष नौं क्वीन्टल धान खरिद गरेको बताउनुभयो । उहाँले आफ्नो ११ कट्टामा लगाइएको धान नफलेको बताउनुभयो । ‘बाहिरी खोल गरिमाको र भित्र नक्कली धान राखेर किसानलाई फसाइयो,’ उहाँले भन्नुभयो, ‘गत वर्ष त गरिमा धान नै लटरम्म फलेर बेच्न पनि भ्याएका थियौं ।’ उहाँले यसको जिम्मा सरकारले लिएर किसानहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्नुभयो ।

किसानको आन्दोलनमा एक्यवद्धता
क्षतिपूर्ति र गरिमा जातको बीउको नाममा किसानलाई ठग्ने कम्पनीलाई कारबाहीको माग गरेर आन्दोलन गरिरहेका किसानको आन्दोलनलाई विभिन्न संघसंस्थाहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

फियान नेपाल, याक नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, जिल्ला खाद्य अधिकार सञ्जाल, प्रदेश खाद्य अधिकार सञ्जाल र सुदूरपश्चिम खाद्य अधिकार मिडिया ग्रुपले किसानको आन्दोलमा ऐक्यवद्धता जनाएका हुन् । उनीहरुले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै बुधबारको आन्दोलनमा सहभागिता जनाएका थिए ।

गरिमा धानको बीउँका कारण कैलाली र कञ्चनपुरमा मात्रै झण्डै छ करोडको क्षति भएको तथ्यांक छ । कैलाली र कञ्चनपुरमा एक हजार सात सय ३० जना किसानले लगाएको गरिमा धानको बीउँले उत्पादन दिएन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News