प्रचण्डले मधेश पुगेर भने– ‘संविधान संशोधन गर्न सकिन्छ’




सिरहा, माघ २४
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहीबार सिरहा पुगेर संविधान संशोधन गर्न सकिने बताएका छन् । उनले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सरकार र आफ्नो पार्टी तयार रहेको बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकास्थित महेशबारीमा विहिबारदेखि शुरु भएको झण्डा मेला महोत्सव ०७६ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मधेशी, जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुला रहेको भन्दे उनले संविधानमा आवश्यक संशोधन गरिने विश्वास दिलाए ।

‘हामीले यो संविधान घोषणा गर्दै गर्दा एउटा कुरा बडो सचेत रूपमा राखेका छौँ’, पूर्वप्रधानमन्त्री दाहालले भने “संविधानमा हामीले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताबाहेक सबै विषयहरु जनताको चाहना र आकाङ्क्षा अनुरुप परिवर्तन गर्न सकिने र संशोधन गर्न सकिने विषयका रुपमा राखेका छौँ ।’ उनले विगतका संविधानमा राजनीतिक मुद्दा र जनताको अधिकारका मुद्दालाई बेला–बेलामा अपरिवर्तनीय भन्दिने र बन्ध्याकरण गर्ने प्रावधानहरु हुने नहुने गरेको बताए ।

उनले तराई–मधेश होस् वा हिमाल–पहाड होस् सबै जनताको आकाङ्क्षा अनुरुप संविधानलाई परिमार्जन गर्दै जाने लोकतान्त्रिक प्रावधान संविधानमा राखिएकाले यसलाई परिवर्तन गर्न सकिने बताए । अध्यक्ष प्रचण्डले तराई–मधेश र हिमाल–पहाडका ऐतिहासिक, सांस्कृतिक कुरा बुझेर देशलाई एकताको सूत्रमा बाँध्नका लागि आफूले पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले तराई–मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै कुरा समेटेर विशेष प्याकेज ल्याउन लागेको छ भन्दै त्यसबाट मधेशले विकासमा ठूलो फड्को मार्ने दाबी गरे ।

अध्यक्ष दाहालले तराई–मधेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्वपश्चिम रेल्वे, फास्टट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारको विकास, कलकारखानाको स्थापनालगायत विकास निर्माणका योजनाहरु विस्तारै अघि बढिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News