वनको जग्गामा घोडाघोडी नगरपालिकाको बलजफ्ती, कानूनविपरित भवन निर्माण गर्दै




अंकुश कुँवर
धनगढी, माघ २७
कैलालीको घोडाघोडी नगरपालिकाले वनको जग्गामा जबरजस्ती भवन निर्माण कार्य सुरु गरेको छ । डिभिजन वन कार्यालय पहलमानपुरले पटक–पटक काम रोक्न नगरपालिकालाई पत्र पठाएपछि नगरपालिकाले बलजफ्ती रुपमा भवन निर्माण कार्य सुरु गरेको हो ।

नगरपालिकाले आफ्नै भवन निर्माण गर्नका लागि शिवशक्ति सामुदायिक वनको जग्गा मास्दै भवन निर्माण कार्य सुरु गरेको छ । अहिले भवनको जग्ग खन्नेलगायतका काम भइरहेको छ । नगरपालिकाले सुखड बजारको उत्तरतिर रहेको सडकसंगै जोडिएको वनमा दर्ता भएको जग्गामा भवन बनाउन थालेको हो ।

सो जग्गामा भवन निर्माणका लागि सिलान्यास हुनु अगाडि नै शिवशक्ति सामुदायिक वन समूहमा आवद्ध व्यक्ति, उपभोक्तालगायतले विरोध जनाएपनि जबरजस्ती सिलान्यास गरिएको थियो ।

डिभिजन वन र सामुदायिक वन समूहसंग पनि समन्वय नगरेर कानून विपरित भवन निर्माणको प्रक्रिया सुरु गरेपछि वन समूहका व्यक्तिहरुले डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए ।

उपभोक्ताको निवेदनपछि तुरुन्तै डिभिजन वन कार्यालयले कात्र्तिक १९ गते नै वनको जग्गामा वन ऐन विपरित संरचना निर्माण गर्न नपाइने भन्दै भवन निर्माण रोक्न घोडाघोडी नगरपालिकालाई पत्र पठाएको थियो ।

तर, नगरपालिकाले त्यसको बेवास्था नगरपालिकाले भवन निर्माणको काम सुरु गरेपछि पुनः विरोध भएको छ । वन समूहले नगरपालिकाले संरचना निर्माण गर्न लागेको भन्दै जानकारी गराएपछि यही माघ २३ गते डिभिजन वन कार्यालयले पुनः नगरपालिकाकालाई पत्र लेख्दै काम रोक्न अनुरोध गरेको छ ।

भवन निर्माण गर्नै परेपनि कानूनी प्रक्रियामा जान पनि वन डिभिजन कार्यालयले पत्रमार्फत नगरपालिकालाई आग्रह गरेको छ । ‘वनको जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राखी आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मात्र काम कारबाही अगाडि बढाउन अनुरोध छ ।’ डिभिजन वन कार्यालयले पठाएको पत्रमा उल्लेख छ ।

सव–डिभिजन वन कार्यालय सुखडमै छ । सव–डिभिजन वन कार्यालयको अनुरोध अटेरी गरेपछि डिभिजन वन कार्यालय पहलमानपुरमार्फत कात्र्तिकमै काम रोक्न लगाइएको थियो । कात्र्तिकमा सिलान्यस भएपछि तीन महिना काम रोकेपनि अहिले फेरि भवन निर्माणका लागि जग खनिएको सव–डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत समिर थापाले बताए ।

उनले नगरपालिकालाई भवन निर्माण गर्नै परेपनि वन ऐन नियममा रहेर कानूनी प्रक्रिया पूरा गरेर मात्रै भवन निर्माणको काम गर्न आग्रह गरेपनि अटेरी गरेको बताए । उनले अहिले जग खनिएपनि काम रोकिएको दाबी गरे ।

सामुदायिक वनका उपभोक्ताहरुले पनि वन र नगरपालिकाकै मिलेमतोमा वनको जग्गामा भवन निर्माणको काम सुरु गरिएको आशंका गरेका छन् । विरोधकाबीच पनि नगरपालिकाले भवन निर्माण गर्दा पनि वन कार्यालयले पक्राउ गर्ने आँट नगरेको शिवशक्ति सामुदायिक वनका उपाध्यक्ष खेम जोशीले बताए ।

‘वन डिभिजनले पनि काम नगर भनेर पत्र काटेजस्तो मात्रै गरेको छ,’ उनले भने, ‘यदि मिलेमतो छैन भने पक्राउ गर्ने आँट किन गर्दैन ।’ घोडाघोडी नगरपालिकाको वडा नम्बर १ का वडाध्यक्ष मनराज शाहीले सञ्चार माध्यमै नगरप्रमुख ममताप्र्रसाद चौधरी र वन डिभिजन प्रमुखकै सहमतिमा भवन निर्माण गर्न सुरु गरिएको भन्ने अभिव्यक्ति दिएका थिए । तर, यस विषयलार्ई डिभिजन वन कार्यालयले मानेको छैन ।

वन समूहका उपाध्यक्ष जोशीकाअनुसार द्वन्द्वकालमा हेलिप्याडको रुपमा प्रयोग गरिएको सो जग्गा २०६९ सालमा वनमा दर्ता भएको थियो । यो वर्ष पनि वनको कार्ययोजना स्वीकृत भएर पाँच महिना अघि मात्रै नविकरणसमेत भइसकेको छ ।

समितिकाअनुसार दुई वर्ष अघि पनि तत्कालिन जिल्ला वन कार्यालयले सोही जग्गामा विभिन्न खाले जडिबुडी तथा बोट विरुवा रोपेर संरक्षण गर्नका लागि बजेट विनियोजनसमेत गरेको थियो । सोहीअनुसार त्यो क्षेत्रमा जडिबुटीलगायत महत्वपूर्ण विरुवा रोपेर उद्यानसमेत बनाइएको थियो । तर, रातारात छाडा गाईबस्तुले जडिबुटी सखाप पारेपछि सो ठाउँ खाली रहेको थियो ।

सो जग्गामा भवन निर्माण गर्न डीपीआर तयार पारिसकेपछि वन समितिलगायत सरोकारवालाहरुको सहमति लिन नगरपालिकाले भेला बोलाएको थियो । भेलामा पनि समितिका पदाधिकारी तथा सदस्यहरुले सो जग्गामा भवन निर्माण गर्न असहमति जनाएका थिए । सो जग्गामा नगरपालिकाले २७ वटा सटरसहित करोडौंको लगानीमा भवन निर्माणको तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News