खाद्य व्यवस्था धनगढीले गर्यो लक्ष्यअनुसार धान खरिद
धनगढी, माघ २८
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले यस वर्ष लक्ष्यअनुसार धान खरिद गरिएको छ । सोमबारसम्म कम्पनी लिमिटेडले सत्ती खरिद केन्द्रबाट १४ हजार क्वीन्टल गरि ४९ हजार क्वीन्टल बढी धान खरिद गरिसकेको छ ।
सत्तीबाहेकका धान खरिद केन्द्रबाट ३५ हजार दुई सय २६ क्वीन्टल ७५ किलो धान खरिद गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए ।
धनगढीलाई यस वर्ष ५० हजार क्वीन्टल धान खरिद गर्ने कोटा तोकिएको थियो । सत्ती धान खरिद केन्द्र पनि धनगढी मातहतनै भएपनि धान कुटानी सहज हुने भन्दै यस वर्ष सत्तीमा कम्पनीकै राजापुर कार्यालयले खरिद गरेको छ । राजापुरमा कम्पनीको आफ्नै मिल छ ।
‘धनगढीबाट टाढा हुने र धान कुटानी गर्न उतैबाट सहज हुने भएकाले सत्तीमा धान संकलन राजापुरबाट भएको हो,’ कम्पनीका धनगढी श्रेष्ठले भने, ‘त्यहाँ संकलित धान हाम्रै हो । कुटानीपछि यतै ल्याइने हो ।’
उनकाअनुसार धान खरिद गर्ने कार्य यो महिना (माघ) भर सञ्चालन हुनेछ । ‘अहिलेसम्म ४९ हजार क्वीन्टल भन्दा बढी धान खरिद भइसकेको छ,’ उनले भने ‘केही दिन अझै भएकाले ५० हजार क्वीन्टल भन्दा बढी धान खरिद हुन्छ ।’ धान विक्री गर्न चाहने किसान केही दिन पछि आएपनि कम्पनीले धान खरिद गर्ने उहाँले बताए ।
उनकाअनुसार यस वर्ष सत्तीपछि सबैभन्दा बढी टीकापुरबाट १३ हजार आठ सय ९९ क्वीन्टल ९२ किलो धान खरिद भएको छ । त्यस्तै, कम्पनीले भजनीबाट नौ हजार सात सय ७९ क्वीन्टल ४२ किलो, जोशीपुरबाट छ हजार तीन सय १९ क्वीन्टल ६३ किलो र मोहनपुरबाट चार हजार सात सय क्वीन्टल धान खरिद गरिएको छ ।
केही समयअघि पानी पर्दा आधा महिना भन्दा बढी समय धान खरिद रोकिएको कम्पनीले जनाएको छ । कम्पनीले कात्र्तिक २८ गतेबाट धान खरिद गर्न सुरु गरेको थियो । सरकारले धानको समर्थन मूल्य तोेकेको तीन सातापछि खाद्य विभागले धान खरिद गर्न निर्देशन गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी धनगढीले धान खरिद गर्न सुरु गरेको थियो ।
यस वर्ष सरकारले धानको समर्थन मूल्य बढी तोकेपछि किसानले उत्साहित भएर कम्पनीलाई धान विक्री गरेका छन् । यस वर्ष सरकारले धानको समर्थन मूल्य (मोटा धान) प्रति क्वीन्टल २५ रुपैयाँ ३२ पैसा तोेकेको छ । सुदूरपश्चिममा प्रायः मोटा धान राम्रो उब्जनी हुने भएकाले मोटा धान बढी उत्पादन हुन्छ ।
किसानहरुले माटा धान नै विक्री गर्ने गरेका छन् । गत वर्ष भन्दा राम्रो मूल्य र समयमै धान खरिद सुरु भएपछि यस वर्ष किसानलाई राहत भएका छ । कम्पनीलाई पनि तोकिएको लक्ष्यअनुसार धान खरिद गर्न सहज भएको छ । गत वर्ष कम्पनीको धनगढी कार्यालयले लक्ष्यअनुसार धान खरिद गर्न सकेको थिएन ।
समर्थन मूल्य समयमै तोकिएपनि गत वर्ष धान खरिद गर्ने कार्यमा ढिलाई भएको थियो । कम्पनीको धगगढी प्रमुख श्रेष्ठले गत वर्ष पनि ५० हजार क्वीन्टल धान खरिद गर्ने कोटा तोकिएपनि २३ हजार क्वीन्टल मात्रै खरिद भएको बताए ।
हसुलियामा पनि धान खरिद केन्द्र राख्न सकेको भए यस वर्ष अझ बढी धान खरिद हुन सक्ने कम्पनीले जनाएको छ । उहाँकाअनुसार कम्पनीले हसुलियाबाट पनि धान खरिद केन्द्र राख्ने भनेर कैलारी गाउँपालिकासंग समन्वय गर्दै निर्णय गरेको थियो । तर, धान राख्ने गोदामको व्यवस्था नहुँदा पछि हसुलियाबाट धान खरिद हुन सकेन ।
कैलालीका भजनी र जोशीपुरमा पनि कम्पनीको आफ्नो गोदाम छैन । भजनीमा त्यहाँ रहेको पूरानो फिल्म हलमा भाडामा लिएर धान राख्ने गरिएको छ भने जोशीपुरमा पनि भाडामै गोदाममा धान राख्ने गरिएको कम्पनीको धनगढी प्रमुख श्रेष्ठले बताए ।