नेपाल प्रहरीमा अनौठो संयोगः जब एसएसपी भाईले आइजीपी भएका दाईलाई सलामी ठोके…


 


काठमाडौं । नेपाल प्रमुख सुरक्षा संगठन नेपाल प्रहरीको इतिहासमा अनौठो संयोग देखिएको छ । जहाँ दाई संगठनको महानिरीक्षक (आइजीपी) बनेका छन् भने भाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन् । बुधबार नवनियुक्त आइजीपी ठाकुर ज्ञवाली फूली लगाएर प्रहरी प्रधान कार्यालय जादै गर्दा उनका भाई एसएसपी श्यामलाल ज्ञवाली पनि फूलगुच्छा बोकेर स्वागतका लागि प्रहरी अधिकारीको लाइनमा लामबद्ध थिए । भाई श्यामले दाजु ठाकुरलाई संगठन प्रमुखका रुपमा फुलगुच्छा दिएर स्वागत गरे । साथमा सलामी पनि ठोके । दाईले पनि सलामी फर्काए । अर्थात हेडक्वाटरमा दाजुभाईको अनौठो संयोग जु¥यो । भाईले दाजुलाई सलामी ठोकेको दुर्लभ दृश्य देखियो ।

प्यूठानको झिमरुकमा जन्मिएका ठाकुर ज्ञवाली वैकल्पिकबाट नेपाल प्रहरीको २७ औं आइजीपी बन्ने भाग्यमानी अवसर पाए । सरल र इमान्दार छवि भएका ज्ञवालीका चार दाजुभाईमध्ये उनी र भाई श्यामल प्रहरी सेवामा छन् ।

रोचक कुरा त के छ भने श्यामलाल पनि भावी आइजीपीका दाबेदार हुन् । उनी अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । उनी २०५१ साल चैत ५ गते प्रहरी निरीक्षकबाट प्रहरीमा बढुवा भएका हुन् । एसएसपीमा उनी आफ्नो ब्याचमा चौथो नम्बरमा छन् । यसअघि पहिलो नम्बरमा भएका उनी पछि परेका थिए ।

अहिलेकै कानूनी व्यवस्थाअनुसार अबको दुई ब्याचपछि श्यामलकै टोलीबाट प्रहरी नेतृत्व चयन हुने छ । जसमा दाजुभाई नै आइजीपी बनेर अर्को इतिहास लेखिनेछ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्