संसदमा शान्ता चौधरीको गर्जनः जसले सिंहदरबार हल्लियो, जनताको मनलाई छोयो !


 


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जनताको मन छुनेगरी संसदमा सम्बोधन गरेकी छिन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले सिंहदरबार हल्लिने र जनताको मन छुने विषय उठाएकी हुन् । उनले नागरिकलाई पास बिना नै सिंहदरबार छिर्न दिनुपर्ने प्रस्ताव गरेकी हुन् । सुरक्षा जाँचपछि जनताले सिंहदरबार छिर्न पाउनु पर्ने उनको प्रस्ताव छ ।

पासको व्यवस्था मिलाउँदा जनताको धेरै समय खेर गएको भन्दै सांसद चौधरीले राष्ट्रिय परिचय पत्र (नागरिकता) देखाएपछि सुरक्षा चेकजाँच गरेर सिंहदरबार छिर्न दिनुपर्ने माग गरिन् । यस विषयमा उनले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण समेत गराइन् । ‘देशको केन्द्र सिंहदरबारभित्र जनताले काम गर्नुपर्ने र भेट गर्नुपर्ने छ । तर भित्रबाट पास दिनुपर्ने अनिवार्य व्यवस्था छ । पास लिने गर्दा धेरै समय जान्छ’, उनले भनिन् ।

उनले दिनको दुई घण्टाका लागि भए पनि जनतालाई सिंहदरबार प्रवेश गर्न दिइनुपर्ने बताइन् । ‘दिनको दुई घण्टा राष्ट्रिय परिचयपत्र देखाएर सुरक्षा जाँच गराएर जनतालाई सिंहदरबार प्रवेशको व्यवस्था मिलाउनु पर्छ । सिंहदरबार मेरो हो भन्ने अनुभूति पनि गराउँछ’, उनले भनिन् ।

नेकपा सचेतक शान्ता चौधरीको जनताले भोगेको सास्तीको विषय उठाएपछि उनको प्रशंसा सुरु भएको छ । उनको प्रस्तावलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । साच्चै उनको प्रस्तावले जनताको मन जितेको छ ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्