नक्कली प्रहरी बनेर रकम असुल्ने तीनजना पक्राउ
धनगढी, माघ २९
कैलाली प्रहरीले नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जनालाई पक्राउ गरेको छ । बझाङ खप्तड छान्ना गाउँपालिका १ घर भर्ई हाल धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कन्चनपुर पुनर्वास नगरपालिका ५ घर भइ धनगढी उपमहानगरपालिका १ बस्ने ३३ वर्षीय किशन सिजापतीलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ २ गते धनगढी उपमहानगरपालिका ३ बडहरा घर भइ मिलनचोकस्थित चन्द्रभान शर्माले संचालन गरेको रिक्सा, साइकल मर्मत पसलबाट उनीहरुले रकम असुली गरेको प्रहरीले जानकारी दिएको छ ।
आफूहरु प्रहरी कार्यालयबाट आएको भन्दै रकम असुल्ने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
यस्तै, प्रहरीले मोटरसाइकलमा चोरीमा सलग्न चार जनालाई समेत पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १० का बिजय राना, बसन्त राना, मोहित राना र निशान्त राना रहेको प्रहरीले जनाएको छ । उनीहरुले माघ २० गते धनगढी उपमहानगरपालिका ३ बाट लु ५३ प नं. को मोटरसाइकल चोरी गरेको बताइएको छ ।