कालापानीमा बस्न सकेन उपप्रधानमन्त्रीको हेलिकप्टर, आकाशबाटै अवलोकन गरेर फर्कियो


 



दार्चुला, फागुन ५
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितको टोली कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएको छ । तर, कालापानीमा हिउँ परेका कारण हेलिकप्टर बस्न सकेन । आकाशबाटै त्यस क्षेत्रको अवलोकन गरेर उपप्रधानमन्त्रीको टोली फर्किएको हो ।

सोमबार बिहान साढे ८ बजे नेपाली सेनाको दुर्गादल गुल्मको ब्यारेकबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको लागि उडेको थियो । टोली विहान ९ बजे नै फर्किएको हो ।

हेलिकप्टरबाट ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरिएको प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौड्यालले जानकारी दिए । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ क्षेत्रमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र रहेको छ । नेपालको व्यास गाउँपालिकाको छांगरु र तिंकरमा हिमपातका कारण ६ महिना मात्रै मानिसहरुको बसोबास हुने गरेको छ ।

उप–प्रधान एबं रक्षामन्त्री पोखरेल सहितको टोलीमा दार्चुला जिल्लबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वुसिंह बोहरा र मानबहादुर धामीलगायत सुरक्षा अधिकारी रहेका थिए ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्