कोरोनाको त्रासमा कोरियाः संक्रमितको संख्या एकै दिन दोब्बरले बृद्धि
एजेन्सी
दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एकै दिन दोब्बरले बढेको छ । अघिल्लो दिन २ सय २९ जनामा भाइरसको पुष्टि भएपछि पछिल्लो एकै दिन संक्रमितको संख्या ४ सय ३३ पुगेको बबताइएको छ ।
नयाँ संक्रमण दक्षिण पूर्वी शहर डाएगु नजिकका अस्पताल र धार्मिक समुहहरुसंग सम्बन्धित रहेको पुष्टि भएको छ । समूहका ९ हजार सदस्यलाई आफै क्वारन्टाइनमा बस्न भनिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ ।
शहर लगभग सुनसान हुन थालेको छ । भाइरसका कारण दुई जनाको मृत्यु भैसकेको छ भने मृतकको संख्या थपिन सक्ने त्रास बढेको छ । संक्रमितको संख्या बढ्दै गएपछि प्रधानमन्त्री चोङ से क्युनले अवस्था अत्यन्त गम्भिर भएको बताएका छन् ।
चीनमा संक्रमणका कारण २ हजार ३४५ जनाको मृत्यु भएको छ भने ७६ हजार २८८ जना संक्रमित भएको पुष्टि भएको छ । चीनबाहिर २६ देशमा १२ सय भन्दा बढीमा संक्रमित रहेको आठ जनाको मृत्यु भएको बताइएको छ ।