राष्ट्रपति फर्किनेबारे जानकारी दिइएन, विमानस्थलमा अपमान भयो : रावल




धनगढी, फागुन १७
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले धनगढी विमानस्थलमा आफूमाथि अपमान भएको बताएका छन् । आफू प्रदेश इन्चार्जसमेत भएको अवस्थामा पनि राष्ट्रपति फर्किने र सुरक्षा प्रबन्धबारे पार्टी र सरकारी संयन्त्रबाट जानकारी नदिएर विमानस्थलमा अपमान गरिएको उनले बताए ।

‘राष्ट्रपति ज्यू पनि म आएकै प्लेनमा राजधानी फर्किने कार्यक्रम रहेछ, मलाई थाहा थिएन,’ उनले भने, ‘प्लेनबाट झरेर विशिष्ट कक्षमा जान खोज्दा मलाई सेनाले रोकेर अर्कै बाटो जान इसारा गर्यो । म आश्चर्यमा परेँ । बाहिर आएर थाहा भयो राष्ट्रपति फर्किँदै हुनुहुँदो रैछ ।’ आफूलाई विशिष्ट कक्षमा जाने दिइएन भनेर आश्चर्य नमानेको भन्दै उनले भने– ‘तर, यसबारेमा मलाई पहिले नै किन जानकारी दिइएन ? म प्रदेशको इन्चार्ज पनि हो ।’

धनगढी पुगिसकेपछि अकस्मात पत्रकार सम्मेलन गर्नुभएका नेता रावलले यसरी आश्चर्य प्रकट गरेका हुन् । ‘राष्ट्रपतिको सुरक्षा विशिष्ट खालको हुन्छ, त्यसमा मेरो आपत्ती होइन,’ उनले भने, ‘तर, मलाई थाहा नभएको हुँदा सदाझैं विशिष्ट कक्षतिर जानखोजेँ । यदि त्यो पूर्व जानकारी गराइदिएको भए त्यसरी जाँदैन थिएँ होला ।’

पार्टी कार्यालयको हलसमेत प्रयोग नगरे आफ्नै कार्यकक्षमै बसेर पत्रकार सम्मेलन गरेका नेता रावलले यस विषयमा आफूलाई जानकारी नदिइनुमा कसैको आदेश नै हुनसक्ने संकेत गरे । के कारणले जानकारी दिइएन भन्नेबारे बेखबर रहेको र आश्चर्यमा पनि परेको उनले बताए ।

पार्टीका प्रदेश अध्यक्ष र सहइन्चार्ज विमानस्थलमा पुग्ने ठाउँमा इन्चार्जलाई जानकारी नहुनु दुखको कुरा भएको भन्दै उनले भने, ‘ममाथि त्यस्तो भएपछि विमानस्थलमा बसिरहन आवश्यक नठानेपछि सिधै पार्टी कार्यालयमा आएँ । राष्ट्रपतिसहितको गाडीहरुलाई मैले बाटोमा भेटाएको थिएँ । मैले गाडी केही छिन साइडमा रोकेर बाटो दिएँ ।’

सोहीक्रममा सचिवालय बैठकबारे पत्रकारको प्रश्नमा बोल्दै नेता रावलले सचिवालयले गरेको निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नुको विकल्प नरहेकोसमेत बताए । केन्द्रीय समिति बैठकले नै पार्टीलाई विधि र पद्धतिमा रहेर चलाउने लिखित निर्णय गरेको भन्दै उनले त्यो निर्णयलाई प्रधानमन्त्रीले आत्मसाथ गर्नुपर्ने बताए । सचिवालयमा आफू नभएकाले त्यहाँ के निर्णय भयो भन्नेबारे भने आफू अनभिज्ञ रहेको उनले बताए ।

पार्टीको प्रदेश सह–इन्चार्ज भानुभक्त जोशीले भने पार्टीका अन्तरिक कुराहरुलाई यसरी बाहिर ल्याउने कामले पार्टी नै बदनामित हुने बताए । ‘कमजोरी हामीबाटै भएको हुनसक्छ, त्यो विषयमा रावल कमरेडलाई जानकारी होला भन्नेपनि भयो,’ उनले भने, ‘तर, उहाँले यसरी लिनुहुन्छ भन्ने पनि लागेको थिएन । यो विषयलाई बाहिर ल्याउनुपनि उपयुक्त होइन ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News