बलात्कार आरोपी पूर्वडिएसपी खिउजू पक्राउ




काठमाडौं, फागुन २२
बलात्कारको आरोप लागेका पूर्वडिएसपी राजकुमार खिउजू पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार साँझ ५ बजे भक्तपुरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका पूर्वडिएसपी खिउजूलाई बिहीबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।

पूर्वडिएसपी खिउजुले पटक–पटक बलात्कार गरेको भन्दै महांकाल गाउँपालिकाकी २१ वर्षीया एक युवतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी परिसर ललितपुरले जनाएको छ । युवतीले २२ माघमा जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि जिल्ला अदालत ललितपुरले खिउजूविरुद्ध २३ माघमा पक्राउ गर्ने अनुमति दिएको हो । प्रहरीले उनलाई फरारको सूचीमा राख्दै आएको थियो । 

महानगरीय प्रहरी वृत्त, चापागाउँमा प्रहरीप्रमुख रहेका वेला खिउजूले डर धम्की दिँदै पटक–पटक यौनहिंसा गरेको युवतीले आरोप लगाएकी थिइन् । खिउजू साउन ०७६ मा सरुवा भई मोरङ पुगेका थिए । युवतीले जाहेरी दिन लागेको थाहा पाएपछि उनले गत पुसमै राजीनामा दिएका थिए ।

सुरक्षा गार्डको जागिर खान प्रहरी सिफारिस आवश्यक परेपछि ती युवती मंसिर ०७५ मा प्रहरी वृत्तमा पुगेकी थिइन् । त्यसैवेला खिउजूले उनलाई पहिलोपटक जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । त्यसवेला खिउजूले चलाखीपूर्ण तरिकाले भिडियो रेकर्ड गरी युवतीलाई ६ महिनासम्म जबर्जस्ती करणी गरेको युवतीको आरोप छ । युवतीले पहिलोपटक खिउजूले आफ्नै कार्यकक्षमा जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेकी छिन् । यस्तै, युवतीको डेरामा समेत पुगेर नग्न तस्बिर र भिडियो देखाएर धम्क्याउँदै पटक–पटक बलात्कार गरेको ती युवतीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News