आमाछोरीको मृत्युपछि काभ्रेको पनौती तनावग्रस्त
काभ्रे ,चैत्र ४
टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको छ। स्थानीय र प्रहरीबीच झडप हुँदा स्थिति तनाव ग्रस्थ बनेको हो ।
झडवका क्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार र ४ जना आन्दोलनकारी घाइते भएका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १५ राउण्ड गोली चलाएको छ। झडवका क्रममा सिसिटिभी र प्रहरी बिटमा क्षति पुगेको छ।
टिप्परको ठक्करबाट घाइते भएका पैदलयात्री आमाछोरीको उपचारका क्रममा मृत्यु भएको थियो। पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिप्परको ठक्करबाट घाइते भएका खानीखोला गाउँपालिका १ बस्ने वर्ष २६ की जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भएको थियो।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिई उनीहरुलाई घाइते बनाएको थियो। उनीहरू दुवैको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।