यूनिफर्ममा आएका भारतीय प्रहरी फिर्ता, नेपाल प्रहरीसामू माफी मागे



दैलेख, चैत ४

नेपाली भूमिमा यूनिफर्ममा दैलेख सदरमुकाम पुगेको भारतीय प्रहरीलाई जिल्ला प्रशासन कार्यालयले फिर्ता गराएको छ । भारतको हरियाणा प्रदेशबाट आएको भारतीय प्रहरीको टोली मंगलवार विहान सदरमुकाममा त्यहाँको यूनिफर्ममा हिडिरहेको विषयलाई स्थानीयले आपत्ति जनाएपछि प्रशासनले उनीहरुलाई फिर्ता गरेको हो ।

भारतको हरियाणा प्रदेशको यमुनानगर जिल्लामा जिल्ला सदरमुकाम नारायण नगरपालिका घर भएका एक व्यक्तिले झण्डै ५० लाख रुपैंयाँ बराबरको धनमाल चार महिना अघि चोरी गरेको विषयमा आरोपितको पहिचान पक्का गर्न आएका भनिएका भारतीय प्रहरी यूनिफर्ममा घुमफिर गरेकोमा स्थानीयले आपत्ति जनाएका थिए ।

स्थानीयले आपत्ति जनाएपछि यमुनानगरका पुलिस सव–इन्स्पेक्टर विजय विवेक सहितका तीन जना भारतीय प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई साधा पोशाकमा मात्र हिड्न भनिएपछि उनीहरुले यूनिफर्म खोलेका थिए । ‘दैलेखको प्रहरी कार्यालयमा भेट्न यूनिफर्ममै जाँदा औपचारिक परिचयलाई सजिलोको लागि लगाएको हो’ सव–इन्स्पेक्टर विवेकले भन्नुभयो ।

भारतीय प्रहरी टोलीलाई जिल्ला प्रशासनले छिमेकी देशमा आफ्नो देशको प्रहरी यूनिफर्म लगाउन गलत हो भनेपछि ‘आफूहरुबाट नजानेर गल्ती भएको भन्दै माफी मागेकाछन्।

‘इण्टरपोलमा नोटिस भएका अपराध घटना अनुसन्धानमा सघाउन हाम्रो कर्तव्य छँदैछ, तर आउने तरिका मिलेन’ दैलेखका निमित्त प्रहरी इञ्चार्ज प्रहरी निरीक्षक नैनबहादुर सावदले टिप्पणी गर्नुभयो ।

साधा पोशाकमा आउजाउ गरेर भारतीय प्रहरी र नेपाल प्रहरीले ठूला अपराधका घटनामा आरोपितलाई पक्रन सहयोग आदानप्रदान भएकै थियो तर यूनिफर्म लगाएर हिंडेकै कारण उनीहरुलाई आजै नेपाल छोडिसक्न फिर्ता गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताउनुभयो ।

उनीहरु अहिले मंगलबार साँझ नेपालगञ्ज नजिकको भारतीय सीमा रुपैंडिया पुगेको आफूलाई जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी कटेलले जानकारी दिनुभयो । भारतको नजिकको सीमा रुपैडियाबाट दैलेख पुग्न १ सय ९५ किलोमीटर मोटर यातायात प्रयोग गरी पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News