नेपाललाई स्वास्थ्य सामग्री दिने चिनियाँ खर्बपतिको घोषणा
बेइजिङ, चैत ८ एजेन्सी

कोरोनाको सम्भावित जोखिमसँग जुध्न चीनका खर्बपति ज्याक माले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् ।
ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना भाइरसविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने शनिबार ट्वीटरमार्फत घोषणा गरेका हुन्।
उनले १८ लाख मास्क, २ लाख १० हजार टेस्ट किट, ३६ हजार सुरक्षित पोसाक केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका हुन्।
कुन मुलुकलाई कुन सामग्री कति परिमाणमा प्रदान गरिने भनेर ट्वीटमा उल्लेख गरिएको छैन।
ज्याक माको स्वास्थ्य सामग्री प्राप्त गर्ने मुलुकहरु नेपाल, अफगानिस्तान, बङ्गलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यान्मार, पाकिस्तान र श्रीलङ्का हुन्।
यसअघि ज्याक माले आफ्नो फाउन्डेसन ज्याक मा फाउन्डेसन र कम्पनीको अलिबाबा फाउन्डेसनमार्फत अमेरिका, इटली र अफ्रिकी मुलुकमा स्वास्थ्य सामग्री प्रदान गरिसकेका छन्।
कोरोना भाइरस विश्वव्यापी बनिसक्दा हालसम्म २ लाख ७६ हजार ४७२ यसबाट संक्रमित बनेका छन्।
यस भाइरसका कारण हालसम्म ११ हजार ४१७ को मृत्यु भइसकेको छ।
कोरोना भाइरसको उद्गमस्थल चीनमा हाल कोरोनाको प्रभाव घट्न थालेको देखिएको छ। त्यहाँ मृतक र संक्रमित दर घट्दै गएको छ।