अर्घाखाँचीमा पनि ‘लकडाउन’ काे निर्णय



अर्घाखाँची, चैत्र १०
चीनबाट सुरू भइ विश्वभर फैलिरहेकाे कोरोना भाइरसकाे संक्रमणबाट सतर्कता अपनाउन अर्घाखाँची जिल्लामा पनि ‘लकडाउन’ गर्ने निर्णय भएकाे छ। सोमबार रातिदेखि जिल्लामा ‘लकडाउन’ गरिने निर्णय भएकाे हाे।

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले यस्ताे निर्णय गरेकाे हाे। बैठकले जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवतजावतमा प्रतिबन्ध लगाउने निर्णय गरेकाे हाे।

मालबाहक सवारी साधनलाई भने प्रतिबन्ध लगाइएको छैन । मालबाहक गाडीमा चालक र सहचालकमात्रै बस्न पाउनेछन् । चालक र सहयोगीलाई चेकजाँच गरी आवश्यक परेमा क्‍वारेन्टाइनमा राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।

बैठकमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानलगायत दलका नेता, उद्योगी, व्यावसायी, यातायात, निर्माण व्यावयासी, सञ्‍चारकर्मीलगायत सरोकारवाला उपस्थिति रहेको थियो ।

औषधि र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्‍न, ग्यास, तेल, फलफुल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्रै खुला हुनेछन् । दुधडेरी, सागसब्जी बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म सञ्‍चालन हुनेछन् । ठेलागाडी, आइसक्रिम, निर्माणको काम पूरै प्रतिबन्ध लगाइएको छ ।

भारत र स्वदेशका अन्य ठाउँबाट आउनेलाई गाउँमा घरपरिवारसँगै नबसी १४ दिनसम्म घरकै क्‍वारेन्टाइनमा बस्‍न अनुरोध गरिएको छ । जिल्लाका ६ वटै पालिकाका जनप्रतिनिधिले सचेतना अभियान सञ्चालन गरेका छन् । मालारानी र पाणिनी गाउँपालिकाले आफ्ना पालिकाभरी माइकिङ गरेका छन् । मालारानीले मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News