रुपन्देहीको सीमा क्षेत्रमा थप कडाइ


 


भारतबाट आवतजावत नरोकिएको भन्दै रुपन्देहीको सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ। रुपन्देहीको सीमा क्षेत्र भारतको एउटा गाउँमा समेत कोरोना संक्रमित बिरामी भेटिएको र भारतबाट आउनेहरुबाट कोरोनाको जोखिम बढेपछि थप निगरानी बढाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

एकातिर जोखिम बढेको र अर्कोतर्फ लुकिछिपी नेपाल आउनेक्रम नरोकिएपछि नेपाल भारत सीमामा पर्ने रुपन्देहीको ६० किलोमिटरको क्षेत्रमा सशस्त्र प्रहरी परिचालन व्यापक बनाइएको हो।

कोरोना भाइरसको जोखिम छिमेकी भारतबाटै हुने भएकाले यसअघि पनि रुपन्देहीका मुख्य नाकामा सशस्त्र प्रहरी परिचलन गरिएको थियो। कैलाली र कञ्चनपुरका नेपालीमा पछिल्लो समय कोरोना संक्रमण देखिएपछि सीमाको निगरानीमा कडाइ गर्न सशस्त्रको संख्या थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।

‘अब एकले अर्को प्रहरीलाई देख्ने गरी नजिक नजिक प्रहरी राखिन्छ, सीमाबाट थप कडाइका साथ निगरानी हुन्छ।’ पन्थले भने।

रुपन्देहीमा नेपाल र भारतको सीमा क्षेत्र ६० किमिको दूरीमा साना ठूला नाका र केन्द्रहरु गरी ५१ वटा छन्। ती सबै केन्द्रमा निगरानी गर्न ७ देखि १० जनाका दरले सशस्त्र प्रहरी खटाइने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल ३८ नं. गुल्म रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार आइतबारददेखि थप २ सय जना सशस्त्र प्रहरी थप गरी ६ सयलाई परिचालन गरिएको छ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्