रुपन्देहीका मुख्य नाका सिल, सीमामा ‘हाई अलर्ट’


 


भैरहवा, चैत्र २३
रुपन्देहीको सीमावर्ती भारतीय सहरमा चीनबाट सुरू भइ विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको छ ।

भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउँसोसम्म भारतमा ३ हजार ३ सय ७८ जना संक्रमित र ७७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा उच्च सतर्कता अपनाइएको हो ।

सीमापारी भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताए । उनले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका सिल गरिएको र अब अवातजावत हुन सक्ने सा-साना नाका-बाटोहरु पनि सिल गरिएको बताए ।

शनिबार रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका थिए । मर्चवार क्षेत्रका सर्वसाधरणका लागि कोल्हुई मुख्य बजार हो ।

मर्चवार क्षेत्रबाट नेपाली र भारतीयको आवगमन हुने गर्दछ । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ । यस्तै भारतबाट नेपाल आएका सुदूरपश्चिमका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि सीमामा निगरानी बढाइएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्