बुहारीलाई मारेर जलाउदै गर्दा सासु-ससुरा र देउरानी पक्राउ


 



वीरगन्ज, चैत २४
पर्सामा २५ वर्षीया बुहारीलाई मारेर जलाउदै गरेको अवस्थामा सासु-ससुरा र देउरानी पक्राउ परेका छन्।
जिल्लाको बहुदरमाई नगरपालिका–८ की २५ वर्षीया बुहारी उर्मिलादेवी पण्डितलाई परपुरुषसँग सम्बन्ध राखेको बहानामा हत्या गरी घाटमा लगेर जलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मृतकका ससुरा करिब ५५ वर्षीय सुरेश पण्डित, सासू ५० वर्षीय फूलकुमारी देवी र देउरानी २३ वर्षीय मालतीदेवी रहेको पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

उनीहरूले उर्मिलालाई रातिको समयमा मारेर बिहानीपख घरनजिकैको घाटमा जलाउँदै गरेको बेला शव नियन्त्रणमा लिएको उनले बताए । प्रहरीलाई सूचना आएपछि पिछा गर्दै जाँदा मृतकको शरीरको केही भाग जल्न बाँकी रहेको समयमा शव पनि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

मृतकका श्रीमान् विदेशमा रहेको समयमा कान्छी बुहारीसँग मिलेर जेठी बुहारीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जना अभियुक्तलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखेर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २४ चैत्र २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्