डाक्टरले उपचार गर्न नमान्दा बिरामीको एम्बुलेन्समै मृत्यु


 



बुटवल, चैत २५
डाक्टरले उपचार गर्न नमान्दा कपिलवस्तुमा एक महिलाको एम्बुलेन्समा नै मृत्यु भएको छ। ज्वरो आएपछि जिल्ला अस्पतालमा ल्याइएकी ३६ वर्षकी कलामुन निशाको ज्यान गएको हो ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रंगपुरकी निशालाई आइतबार जिल्ला अस्पताल तौलिहवा लगिएको थियो। त्यहाँका स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर जाँच्नुको साटो भैरहवाको मेडिकल कलेज जान भनेका थिए।

उनका ससुरा सरिफ मुसलवानले एम्बुलेन्समा राखेर बुहारीलाई मेडिकल कलेज पुर्‍याए। तर, त्यहाँको प्रशासनले त ज्वरोका बिरामीको उपचार नगर्ने भन्दै गेटभित्र प्रवेशसमेत नदिएको उनले बताए ।

त्यसपछि उनीहरू जिल्ला अस्पतालमै फर्किए। प्रमुख जिल्ला अधिकारीसमक्ष गुनासो गरेपछि डाक्टर अस्पताल बाहिरै उपचार गर्न तयार हुदैगर्दा बिरामीको एम्बुलेन्समै मृत्यु भैसकेको थियो । निशाका दुई छोरा र दुई छोरी छन्।

निशालाई एक साताअघि पनि ज्वरो आएको थियो। तौलिहवाकै मेडिकलबाट औषधि लगेर उनले सेवन गरेकी थिइन्। त्यो बेला मेडिकल सञ्चालकले सामान्य टाइफाइड भन्दै औषधि दिएको बताए। कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।

किशोर बञ्जाडेले एम्बुलेन्समै बिरामीको ज्यान गएको स्वीकार गरे। भैरहवाको युनिभर्सल मेडिकल कलेजले केही दिनअघि मात्रै बुटवलका एक बिरामीलाई उपचार नगरी फर्काएको थियो।

खुट्टा भाँच्चिएर अस्पताल पुगेका उनलाई ज्वरो आएको भन्दै फिर्ता गरिएको थियो। सरकारले उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भने पनि बिरामी मृत्यु शृंखला निरन्तर छ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्