राहत वितरणमा ढिलाई


 


पाँचथर, चैत २५

लकडाउनको दुई साता बितिसक्दासमेत यहाँका अधिकांश स्थानीय तहहरुले राहत वितरण थालेका छैनन् ।

लकडाउनबाट प्रभावित असङ्गठित क्षेत्रका दैनिक ज्यालादारी गर्ने मजदूर तथा न्यून आय भएका परिवारलाई राहत दिने काम पाँचथरका अधिकांश स्थानीय तहमा शुरु भएको छैन ।

जिल्लाको फिदिम नगरपालिकाले मात्रै राहत वितरण थालेको छ । बाँकी सात वटा गाउँपालिकामा कतै राहत वितरणको तयारी भइरहेको छ भने कतै राहत वितरण गर्नुपर्ने परिवारहरुको तथ्याङ्क सङ्कलन भइरहेको छ । लकडाउन भएको दुई साता बितिसक्दासमेत राहत नपाउँदा दैनिक ज्यालादारी गरेर जीविका चलाउने परिवारहरु भने समस्या पर्न थालेका छन् ।

फिदिम नगरपालिकाले वडास्तरबाटै त्यस्ता परिवारको पहिचान र राहत वितरण कार्य अगाडि बढाएको छ । प्रमुख प्रशासकीय अधिकृत अम्विकाप्रसाद अधिकारीका अनुसार नगरपालिकाले सबै वडामा राहत सामग्री पु¥याइसकेको छ । जनसङ्ख्याको अनुपातमा १४ वटै वडास्तरमा राहत सामग्री पठाइएको हो । फिदिमका वडा नं। १, २ र ४ मा ५० जनाका दरले तथा बाँकी वडामा २५ जनाका दरले राहत प्राप्त गर्ने परिवार हुनसक्ने अनुमानका आधारमा सामग्री पठाइएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । “अन्य दाताले दिने राहत सामग्री पनि वडाबाटै वितरण हुन्छ । कहीँ कमी भएमा नगरपालिकाबाट थप्ने तयारी गरिएको छ”, अधिकारीले भन्नुभयो ।

जिल्लाका अन्य सात गाउँपालिकामध्ये याङवरकले मात्रै राहत वितरणको तयारी थालेको छ । “वडा समितिले राहत दिनुपर्ने परिवारको पहिचान गरी राहत दिनुहुन्छ । राहत दिएको विवरण गाउँपालिकामा पठाउनु भनिएको छ”, उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले भन्नुभयो, “आजसम्म सबै वडामा राहत सामग्री पुग्छ र वितरण शुरु हुन्छ ।” याङवरक बाहेक अन्य सबै गाउँपालिका राहत वितरणको तयारीमा मात्रै छन् ।

हिलिहाङ गाउँपालिकाले राहत प्राप्त गर्ने परिवारको पहिचान शुरु गरिएको जनाएको छ । गाउँपालिकाका सूचना अधिकारी सुवास भट्टराईका अनुसार राहत दिनुपर्ने परिवारको पहिचानपश्चात वितरणको कार्य अघि बढ्नेछ । “भोलि झनै समस्या आउला कि भनेर हतार नगरेका हौँ”, भट्टराईले भन्नुभयो, “अहिले नै समस्यामा पर्ने परिवार हुनुहुन्न भन्ने गाउँ कार्यपालिकाको बैठकले आँकलन गरेको छ ।”

उत्तरी फालेलुङले गाउँपालिकाको राहत वितरण कार्यविधि निर्माणको तयारी गरेको छ । गाउँ कार्यपालिकाको बैठकले कार्यविधि स्वीकृत गरेपछि राहत कोष खडा गरी वितरण गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले जानकारी दिनुभयो । उक्त गाउँपालिकाले असङ्गठित क्षेत्रका दैनिक ज्यालादारी गर्ने मजदूरसहित अपाङ्गता भएका व्यक्ति र ७७ वर्ष माथिका व्यक्ति घरमुली भएको र उक्त घरमा आम्दानी गर्ने अन्य व्यक्ति नभएको परिवारलाई राहत दिने मापदण्ड तय गरेको छ ।

जिल्लाको फाल्गुनन्द, तुम्बेवा, मिक्लाजुङ र कुम्मायक गाउँपालिकाले राहत प्राप्त गर्ने परिवारको पहिचान थालेका छन् । मिक्लाजुङले आउँदो बिहीबारसम्ममा राहत प्राप्त गर्ने परिवारको विवरण वडाबाट सङ्कलन गरिसक्ने जनाएको छ । “विहीवारपछि तथ्याङ्क सङ्कलन सम्पन्न भएका वडाहरुमा राहत वितरण थाल्छौँ”, मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले भन्नुभयो । फाल्गुनन्दमा तथ्याङ्क सङ्कलन धमाधम भइरहेको प्रमुख प्रशासकीय अधिकृत अनिल तित्रखीको भनाई छ । फाल्गुनन्दमा विगतमा वडा कार्यालयहरुले राखेको विवरणअनुसार ३९० परिवारलाई राहत वितरण गर्नुपर्ने देखिएपनि लकडाउनबाट प्रभावित हुनेको यकिन तथ्याङ्क सङ्कलन गरिएको हो ।

कुम्मायक गाउँपालिकाले भोलिसम्ममा तथ्याङ्क सङ्कलन सम्पन्न गरी राहत वितरण थाल्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराईका अनुसार वडाहरुलाई नै तथ्याङ्क सङ्कलन तथा राहत वितरणको जिम्मा दिइएको छ । राहत सामग्री भने गाउँपालिकाले नै खरिद गरी वितरणको प्रबन्ध मिलाउने भट्टराईले बताउनुभयो ।

ठूलो सङ्ख्यामा विपन्न परिवार रहेको तुम्बेवा गाउँपालिकाले वडा कार्यालयबाट विवरण सङ्कलन थालेको छ । सुक्खाग्रस्त क्षेत्र रहेको तुम्बेवामा सङ्घीय सरकारको मापदण्डअनुसार ठूलो सङ्ख्यामा राहत वितरण गर्नुपर्ने परिवार देखिने भएपछि वडाहरुले प्रभावित परिवारको पहिचान गर्ने भएका छन् । यहाँ विगतमा समेत खडेरी प्रभावित कृषकहरुलाई राहत दिइएकाले न्यून आर्थिक अवस्थाका धेरै परिवारले राहत दिन माग गरेका छन् ।

“यहाँ ठूलो सङ्ख्यामा न्यून आय भएका परिवार हुनुहुन्छ । सबैलाई राहत दिन नसकिने गाउँ कार्यपालिकाको निष्कर्षपछि वडाहरुबाट लकडाउन प्रभावितहरुको पहिचान थालिएको हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले भन्नुभयो । सङ्घीय सरकारले पिछडिएका क्षेत्रमा सूचीकृत गरेको यस गाउँपालिकाले आगामी दिनमा समेत राहत वितरण गर्नुपर्ने अवस्था आइपर्नसक्ने भन्दै खाद्य सामग्रीको भण्डारण थालेको प्रमुख प्रशासकीय अधिकृत दाहालले जानकारी दिनुभयो ।

अधिकांश जिल्लावासी कृषिमा आधारित भए पनि पछिल्लो समय विकास निर्माणका कार्यमा प्राप्त रोजगारीका अवसर तथा खडेरीले कृषिबाट विस्थापन हुने अवस्था सिर्जना गरेसँगै युवाहरुको ठूलो सङ्ख्या दैनिक ज्यालादारी गर्ने मजदूरका रुपमा परिणत भएको छ । यहाँ पुष्पलाल ९मध्यपहाडी० लोकमार्ग, उत्तर–दक्षिण तमोर कोरिडोर, निर्माणाधीन राँके–भेडेटार सडक तथा अन्य सडक निर्माणमा जिल्लाकै ठूलो जनशक्ति मजदूरको रुपमा खटिएका छन् । लकडाउनले निर्माण कार्य अवरुद्ध भएसँगै उनीहरुको दैनिकी समस्याग्रस्त भएको छ । यसरी ज्यालादारी गर्नेहरु सङ्गठित नभएका कारण यकिन तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।

प्रकाशित मिति: २५ चैत्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्