टेकु अस्पताल भन्छ- दुई कोरोना सङ्क्रमित केही दिनमै डिस्चार्ज हुँदैछन्
काठमाण्डौँ,चैत ३०।
काठमाण्डौँको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुने जनाएको छ ।
सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए ।
टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।
यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिनुभयो । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वरेण्टीन कक्ष छन् ।
अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो ।
तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् ।यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् ।