सेती अस्पतालको प्रसुती सेवा निजी अस्पतालमा सार्ने निर्णय



धनगढी ,वैशाख ३ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल बनाएपछि त्यहाँ प्रदान हुने प्रसुती सेवा धनगढीकै निजी अस्पताल नवजीवन अस्पतालमा सार्ने निर्णय गरिएको छ ।

प्रदेश संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले सेती प्रादेशिक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली नवजीवन अस्पतालमा खटाएर प्रसुती सेवा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

कोरोना संक्रमितको उपचारका लागि वैकल्पिक अस्पताल निर्माण नहुँदासम्म सेती अस्पतालको आमा सुरक्षा कार्यक्रमको सेवा नवजीवन अस्पतालबाट प्रदान गरिने जानकारी दिए ।

यसअघि सामाजिक विकार मन्त्री कृष्णराज सुबेदीको अध्यक्षतामा भएको बैठकले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा बन्द गर्ने र आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेको नवजीवन अस्पतालमा सार्ने निर्णय गरेपनि जनशक्ति व्यवस्थापनबारे टुंगो लागेको थिएन ।संकट व्यवस्थापन केन्द्रले सेती प्रादेशिक अस्पतालको प्रसुती सेवा नवजीवन अस्पतालमा सार्ने निर्णयसहित १५ वटा निर्णय गरेको छ ।

अस्पतालमा चिकित्सकहरुलाई आलोपालो गरि खटाउने, मानवीय जनशक्ति कम लाग्ने विकास निर्माणका कामहरु सुचारु गर्ने, न्युनतम खाद्यन्न सञ्चय गर्ने जिम्मा स्थानीय तहलाई दिने, प्रदेशमा औषधि, उपकरणलगायतका स्वास्थ्य सामग्री खरिद गर्ने र उपलब्ध हुन नसकेका औषधि उपकरण खरिदका लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, सुरक्षा चुनौतीको विश्लेषण गरि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई आवश्यक सवारी साधन तयारी अवस्थामा राख्न लगाउने, प्रदेशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा जिल्ला सदरमुकाममा एक सयदेखि पाँच सयसम्म र स्थानीय तहमा एक सयदेखि दुईसयसम्मको क्वारेन्टाइन बनाउन लगाउने मन्त्री शाहले जानकारी दिए ।

मन्त्री शाहले निजी अस्पताललाई पनि आफ्नो सेवा सुचारु गर्न गराउन सरोकारवालाहरुसंग छलफल गर्ने निर्णय पनि भएको जानकारी दिए ।

यसैगरि, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिवको संयोजकत्वमा ‘कोभिड–१९ इमर्जेन्सी अपरेशन सेन्टर’ गठन गर्ने निर्णय पनि गरिएको छ ।

सेन्टरमा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सदस्य र सामाजिक विकास मन्त्रालयका अधिकृत सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

सेन्टरलाई कोरोना भाइरस रोकथामका लागि विभिन्न निकायबीच समन्वय गर्ने, सहजीकरण गर्ने र आगामी रणनीति र कार्ययोजना निर्माण गर्ने कार्यक्षत्र तोकिएको मन्त्री शाहले प्रेस कन्फ्रेन्समार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News