कैलालीका अर्का कोरोना संक्रमित युवक डिस्चार्ज
धनगढी, वैशाख ९
कैलालीबाट अर्का एक ३४ वर्षीय कोरोना संक्रमित युवक पनि मंगलबार डिस्चार्ज भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का कोरोना संक्रमित युवक २८ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
सुदूरपश्चिममा पहिलो कोरोना संक्रमितका रुपमा गएको चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको चौथो र पाँचौं रिपार्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले जानकारी दिए । दुबईबाट भारतको दिल्ली हुँदै नेपाल पुगको युवक काठमाडौंबाट जहाजमा नेपालगञ्जको बाटो भएर धनगढी पुगेका थिए ।
कोरोना संक्रमितमध्ये उनी सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज हुने दोस्रो व्यक्ति हुन् । यसअघि कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक डिस्चार्ज भएका थिए । अस्पतालमा अझै तीन जना संक्रमितको उपचार भइरहेको छ ।