भोजपुर प्रवेश गर्ने सीमा नाका शिल



भोजपुर, बैशाख ११

उदयपुरमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने आमचोक गाउँपालिका प्रवेश गर्ने सबै नाका शिल गरिएको छ ।

सिमापारिका छिमेकी जिल्लामा कोरोनाको सङ्क्रमण देखिएसँगै सोसँग सीमा जोडिएका रानीटार, बगुवा, जोगी पत्थर र मैयुङटार सीमा नाका शिल गरिएको आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो । अध्यक्ष राईले भन्नुभयो, “उदयपुरमा कोरोनाको सङ्क्रमण देखिएपछि हाम्रो स्थानीय तहसँग सीमा जोडिएका सम्पूर्ण नाका शिल गरेका छौँ । सीमा सुरक्षामा कडाई गरिएको छ ।”

गाउँपालिकाले काठमाडौँबाट ६ देखि ७ सम्म लगाएर हिँडेर आएका आफ्ना क्षेत्रका ३७ जना स्थानीयलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले जानकारी दिनुभयो । त्यस्तै काठमाडौँमा ज्यालादारी गरिरहेका आफ्ना नागरिकलाई गाउँपालिकाबाट गएर त्यहाँ व्यापार व्यवसाय गरिरहेका तथा अन्य नागरिकसँग मिलेर ५० जना बढीलाई राहतको व्यवस्था गरेको समेत उहाँको भनाइ छ ।

“हामीले यहाँका स्थानीयलाई राहतको व्यवस्था मिलाएका छौँ । काठमाडौँमा रहेका नागरिकलाई पनि राहतको व्यवस्था मिलाएका छाँै । अत्यावश्यक काम लागि अन्य क्षेत्रबाट आएका आफ्ना नागरिकलाई १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तमा ल्याएका छौँ”, अध्यक्ष राईले भन्नुभयो । उदयपुरमा कोरोना देखिएसँगै अन्य स्थानीय तहका तुलनामा आमचोक गाउँपालिका जोखिममा रहेकोले १०० बेडको क्वारेन्टाइन निर्माण गर्ने लक्ष्य भएपनि हाल सम्म ७४ बेडको क्वारेन्टाइन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा ५४ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News